२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

दरबारमा सुरक्षा दिने शंकर अहिले पठाओ चलाउँछन्: भन्छन्-राजारानीले सधैँ सन्चो बिसन्चो सोध्नुभयो

दीपेन्द्र र निराजन फुटबल खेल्दा हलचल नगरी उभिनुपर्ने बाध्यता !

१८ वर्ष नेपाली सेनामा सेवा गरेका ४६ वर्षीय शंकरप्रसाद रिजाल विगत चार वर्षदेखि राइड सेयरिङमा जीवन बिताइरहेका छन् । पठाओमा आवद्ध शंकरले आफ्नो ‘एफ जेड’ बाइकमा यात्रुलाई सुरक्षित गन्तब्यमा पुर्‍याई सेवा गर्न पाउँदाको आनन्द शब्दमा बयान गर्न नसकिने सुनाए । हुन पनि उनले आफ्नो जीवनको उत्तरार्ध समयनै सेनामा बिताएकाले होला सेवा गर्ने उनको स्वभाव नै बन्यो ।  

पहिले सेना, त्यसपछि  सुरक्षा गार्ड र अहिले पठाओमार्फत शंकर नागरिकसँग जोडिरहेका छन् । उनी आफू बाँचुन्जेल सेवा कर्ममै बिताउने गर्वसाथ सुनाउँछन् ।  

‘काम कुनै पनि सानो वा ठूलो हुदैन’, अवकाश प्राप्त जमिदार शंकरले नागरिकसँगको भेटमा भने, ‘मन सेवा भावनाले ओतप्रोत हुनुपर्छ । उमेरमा सेनामा प्रवेश गरेँ, सेनाबाट सुरु भएको सेवाकर्म अहिलेसम्म निरन्तर छ । सीप अनुसारको काम गरिरहेको छु । पठाओले अर्को जीवन दिएको छ।’  

उनले सन्तोषको सास तान्दै भने,‘चार वर्षदेखि अनलाइन पठाओ सेवा गरेर मलाई आत्मसन्तुष्टि मिलेको छ।’ कोहीले खुद्रा छैन भन्दै उठेको भाडाभन्दा थोरै पारिश्रमिक दिन्छन् तर पनि उनी केही भन्नदैनन् । कोही उठेको भाडा भन्दा बढी दिने पनि छन् । उनी पठाओ चलाउँदा यात्रुलाई आफ्नो जीवन र भोगाइको अनुभव पनि सुनाउँदा रहेछन् । यसले पनि यात्रुलाई रमाइलो बनाउने गरेको उनको बुझाइ छ।

‘कहिले यात्रुसँग उठेको भाडा जति खुला पैसा हुदैन म केही भन्दिन। जति दिनुहुन्छ त्यही लिन्छु,’ शंकरले पठाओ चलाउँदाको अनुभव सुनाए,‘कतिपय यात्रुले उठेकोभन्दा बढी अर्थात् ८० रुपैयाँ भाडा उठेको छ भने एक सयको नोट दिएर फिर्ता लिनु हुन्न। फिर्ता दिँदा पनि तपाईं राख्नुस् भन्नुहुन्छ।’  

उनी भन्छन्, ‘मान्छेले इमान्दारपुर्वक काम गर्नुपर्छ र सबै राम्रो हुन्छ। मेरो चार वर्षको यही अनुभव छ। अहिलेसम्म कुनै विवाद परेको  छैन।’

उनले निकै दुःख पाएर वा पैसाको कमीले पठाओ चलाएका होइनन् । सेवा भावले मात्र पठाओ चलाएको उनको हाउभाउ, व्यवहार र बोलीले दर्शाउँछ ।  

शुक्रबार सुन्धारादेखि सिनामंगलसम्म यात्रु ओसार्दा त्यसबापट प्राप्त पारिश्रमिक गनेर हर्षित बनेको अवस्थामा भेटिएका शंकरले पठाओले उनको जीवन निकै सहज र सकारात्मक बनाइ दिएको सुनाए ।

नेपाली सेनामा सिपाहीबाट जागिरमा प्रवेश गरेका शंकर १८ वर्ष सेवापछि जमिदार पदबाट अवकास भए । ०७१ मा जमिदार पदबाट अवकास पाएका उनी ०७२ सालको अन्तिममा वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगे । उनले दुबईमा सुरक्षा गार्डको काम गरे । सेनाको जागिरबाट बचाएको केही रकम र ६ वर्ष विदेशमा बगाएको पसिनाले काठमाडौंमा घर जोडेको उनी गर्वका साथ सुनाउँछन् । भन्छन्, ‘मेहनतको फल मिठो हुँदो रहेछ ।’

पठाओबाट दैनिक दुई हजार कमाइ

अहिले उनको दिनचर्या पठाओ मै बित्ने गरेको छ । पठाओबाटै दैनिक कम्तिमा दुई हजारसम्म कमाइ हुने शंकरले सुनाए । नयाँ यात्रुसँग नयाँ जीवन र भोगाइको अनुभव साटासाटसँगै आफ्नै सीपबाट स्वरोजगार बनेकोमा उनी आफूलाई सर्वाधिक खुसी ठान्छन् ।  

‘मेरो पेन्सन र घर भाडाले जिविका राम्रै चलेको छ । साथै श्रीमती पनि एउटा निजी विद्यालयमा स्कूलकी शिक्षिका हुन । हामीलाई केहीको कमी छैन,’ शंकरले आफ्नो परिवेश सुनाउँदै भने,‘जीवन त राम्रै बितिरहेको छ । हातखुट्टा चलुन्जेल बसेर खान मन लागेन । पढाई कम भएकोले अरु काम पाइदैन । आफ्नो आत्मसन्तुष्टिका लागि पठाओमा प्रवेश गरे ।’

उनले भने, ‘चार वर्षको अवधिमा २४-२५ लाख कमाएँ। त्यही पैसाले घर बनाएँ । दुई सन्तानको पढाई खर्च राम्रोसँग धान्न सकेकोमा मेरो परिवारमा थप खुशी छाएको छ ।’

धादिङबाट चप्पल लगाएर काठमाडौं छिरेका शंकरलाई काठमाडौंमा घर बनाउने ठूलो सपना नै थियो । साथै उनको युवाअवस्थामा काठमाडौंवासीको आरामदायी जीवनले पनि लोभ्याउने गरेको थियो । त्यही सपना साकार पार्न उनी सेनाको जागिरे भएका थिए । उनी सम्झन्छन्, 'प्रज्जव शमशेर जबरा प्रधान सेनापति हुँदा म सेनामा जागिरेमा छिरेको हुँ ।' 

‘प्रधानसेनापति कार्यालयमा कार्यरत हुँदा कार्यालय अगाडीको घरमा एक दम्पतीको जीवनशैलीले मलाई निकै आकर्षित बनाएको थियो । जाडो याममा बिहानै ७ बजे प्लाष्टिकको गोलो टेवलमा आएर ती दम्पतिले घाम ताप्दै कफीको चुस्की लिएर बस्नुहुन्थ्यो,’ शंकरको युवा दिमागमा  काठमाडौंवासीको सुखद् जीवनशैलीको छाप बस्यो,‘एउटा केटोले ट्रेमा कफी र बटर ब्रेड ल्याएर दिन्थ्यो । उहाँहरु कफीको चुस्की लिनु भएको दृश्यले मलाई काठमाडौंको जीवनशैली आरामदायी र धनी हुदो रहेछ भन्ने लाग्यो । नास्ता पछि गाडी चढेर बुढाबुढी अफिस जानु भएको सधैं देख्थेँ । मलाई उहाँहरुको आरामदायी जीवनले निकै लोभ्याउँथ्यो। र सोच्थेँ एक दिन मेरो पनि काठमाडौंमा घर हुनेछ।’

उनले खुसी हुँदै सुनाए,‘धादिङबाट चप्पल लगाएर आएको केटोको अहिले काठमाडौंमा घर छ । मैले सफलता पाएजस्तो महसुस हुन्छ । पठाओबाट कमाएको पैसाले घर बनाउनमा थप सहयोग भयो । दुई सन्तानको शिक्षा पनि यही कमाईले भइरहेको छ।’

उनले छोरीलाई फर्मेसीमा स्नातक पढाएका छन् भने छोरा कक्षा १२ को परीक्षा दिएर बसेका छन् ।  

दरबारभित्र हलचल गर्न पाइन्दैनथ्यो  

त्यसो त शंकरले दरबारभित्र पनि काम गरे। ड्युटीमा रहेका समय राजारानीसँग बारम्बार भेट हुने गरेको सुनाउने शंकरले राजाराजीले कुराकानी गर्दा खुसी लाग्ने गरेको बताए । तर त्यहाँको अनुशासनले भने उनलाई आजित बनाएको रहेछ। कडा ड्यूटी र ड्यूटीमा रहँदा बर्दीमै पिसाब गरेका अनेकन रोचक घटना पनि उनले सुनाए ।

दुई सन्तानका बुवा शंकर दरबारमा जागिर खाँदा निकै कडिकडाउ व्यवस्थाका बीच काम गरेको सुनाउँछन् । ‘दरबारभित्रको टुकुचा खेल मैदानमा युवराज दीपेन्द्र सरकार र निराजन सरकार फुटबल खेल्नु हुन्थ्यो,’ शंकरले दरबार भित्रको अनुभव सुनाए,‘उहाँहरु खेलुन्जेलसम्म र गोल नहानुन्जेलसम्म हामी सुरक्षामा उभिनु पथ्र्यो ।  हलचल समेत गर्न पाइन्थ्यो । दुई घन्टाको सयमभित्र पिसाब फेर्न पनि जान पाइन्थ्यो । यसरी ड्युटीमा रहेका समय पिसाब आएपनि जान नपाउने भएपछि आफैले बर्दीमा पिसाब छाड्नु पर्ने अवस्था आएको उनले सुनाए ।  

उनले थप सुनाए,‘०५४ मै सिपाहीमा दरबारभित्रै जागिरे म ०५७ सम्म दरबारभित्रै बसे । तालिम पनि टुकुचाभित्रै भयो । ६ वटा पल्टनको ६ वटा चौर थियो । राजा वीरेन्द्र र रानी एश्वर्यले हामीलाई देख्नासाथ सन्चोबिसन्चो सोध्नु हुन्थ्यो ।’  शंकर राजारानीले सञ्चो बिसन्चो सोध्दा सँधै फुरुक्क हुने गरेका थिए । 

प्रकाशित: १२ भाद्र २०८२ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App