१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

एकैदिन मुस्ताङ पुगे सात हजार पर्यटक

धार्मिक र पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त संख्यामा आन्तरिक र बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्।  

तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो। मुक्तिनाथ दर्शन र यहाँको रमणीय प्राकृतिक सौन्दर्य अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन धेरै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

यहाँ एकैदिन छ हजार ५०६ आन्तरिक र ३५३ विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए। शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गरे।  

यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ आन्तरिक र बाह्य पर्यटक मुस्ताङ भित्रिएका छन्। यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताए। कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ।  

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए। यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।  

तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको संख्या धेरै बढिरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको संख्याले परिसर पुरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ। मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइन व्यवस्थापन गर्न सुरक्षा निकायसँगै स्वयंसेवक खटाइएको कोषाध्यक्ष गुरुङले जनाए।  

हिउँदयाम सुरु भएकाले चिसो बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई ध्यान दिंदै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनमा सहजता ल्याइएको उनले बताए। यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षामा कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाए।  

तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ। सयौं सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा चल्दा ट्राफिक जाम भएको थियो। मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो।  

उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालित सबै होटल पर्यटकले भरिभराउ भएको बताए। चाडपर्वमा मुस्ताङ घुम्ने महत्त्वपूर्ण धार्मिक र पर्यटकीय स्थल बनेकाले पर्यटकको संख्यामा धेरै वृद्धि भएको अध्यक्ष लालचनको भनाइ छ।  

विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कूल र कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीको मुस्ताङ भ्रमण गर्ने संख्या बढेको अध्यक्ष लालचनले बताए। सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैं, तिहार र छठमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बनेको छ।  

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै गएपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आएको हो। पर्यटकीय याममा यहाँ सञ्चालित होटलले पर्यटक थेग्न नसक्ने अवस्था छ। प्रहरीले विशेष चाडपर्वमा मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटकलाई होटल बुकिङ गरेर मात्र आउन अनुरोध गरेको छ। रासस

प्रकाशित: ८ कार्तिक २०८२ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App