नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्। बिहीबार साँझ करिब साढे ६ बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार नलगाड नगरपालिका–८ हलचौर निवासी २४ वर्षीय चालक विनोद विकले चलाएको जिप आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २५ वर्षीय बालकृष्ण बोहरा, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाइतेमध्ये बालकृष्ण बोहराको नगर अस्पताल दल्लीमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ। अन्य घाइतेहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ भाद्र २०८३ २१:०९ बिहीबार





