२५ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

वर्षभरि साढे सात हजार विपद्का घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपद्का घटना भएका छन्। विपद्का कारण १३ हजार पाँच सय चार परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद् र विपद्जन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन्। आगलागीमा परेर मात्रै एक सय चार जनाको अकालमा ज्यान गएको छ। पाँच सय ६३ जना घाइते हुँदा चार हजार एक सय ८२ परिवार प्रत्यक्ष रूपमा पीडित भएका छन्।

बाढीका कारण मात्रै तीन सय २८ घटनामा ३९ जनाको निधन भएको छ। बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार, ६ सय २१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ। यस्तै, भारी वर्षाको चार सय ४६ घटनामा परेर सात जनाको ज्यान गयो भने २० जना घाइते भए।

त्यस्तै, चार सय १९ चट्याङका कारण ४८ जनाको ज्यान गयो। कूल तीन सय १२ जना घाइते हुँदा पाँच सय २२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भए। हावाहुरीका चार सय ७७, वन डढेलोका तीन सय २४, जनावर आक्रमणका पाँच सय नौ तथा लेक लाग्नुका एक सय ३१ घटना भएका छन्।

प्राधिकरणका अनुसार यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गतेसम्मको हो। एक वर्षको अवधिमा विपद्मा मात्रै चार सय ९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन्। विपद्का कारण एक हजार नौ सय ६५ जना घाइते भएका छन्।

प्रकाशित: २५ चैत्र २०८२ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App