नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या द्रुत गतिमा बढेकाले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन्। विगत दुई दशकमा नेपालमा ६० वर्षभन्दा माथीको जनसंख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकोले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सुझाव उनीहरूले दिएका छन्।
मनमोहन स्मृति प्रतिष्ठानले आयोजना दुई दिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुतीकरण गरिएका चारवटा छलफल सत्रमा सहभागी विज्ञहरूले अब ज्येष्ठ नागरिकको जनसंख्या गनेर मात्र बस्नु उपयुक्त नुहने बताएका छन्। त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा.पद्धमप्रसाद खतिवडाले नेपालमा बच्चा पाउने दर कम भए पनि बच्चा पाउने उमेरको जनसंख्या ठूलो भएकाले यो समूह क्रमश: बुढ्यौलीतर्फ प्रवेश गरिरहेकाले नेपालमा आगामी केही दशकसम्म नै ज्येष्ठ नागरिकको जनसंख्या बढिरहने बताए। उनले ज्येष्ठ नागरिकलाई राज्यले हेरचाह गर्ने सामाजिक सुरक्षाका कार्यक्रम व्यापक रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याएका छन्।
‘नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी नीति कार्यक्रम मनमोहन अधिकारीले सुरु गरेको ज्येष्ठ नागरिक भत्ताबाट सुरु हुन्छ,’ खतिवडाको प्रस्तुतिमा भनिएको छ, ‘२०५८ देखि ०६५ को अवधीमा यसको संस्थागत विकास भएको छ भने २०७२ को संविधानले ज्येष्ठ नागरिकका हकका बारेमा संवैधानिक सुनिश्चतता कायम गरेको छ।’
त्रिविका पूर्व प्राध्यापक विधान आचार्यले नेपालमा स्वास्थ्य सेवाको उपलब्धता, बढ्दो आर्थिक अवस्था आदिका कारण औषत आयु बढ्दै गएको बताएका छन्। २०३८ सालतिर नेपालीकौ औषत आयु ४९.८ वर्ष रहेकामा हाल करिब ७० वर्ष पुगेको उनले जानकारी दिए। ‘औषत आयु बढ्नु खुसीको कुरा हो। यससँगै घरघरमै ज्येष्ठ नागरिकको संख्या थपियो। उनीहरूको हेरचाह अहिलेको प्रमुख चुनौती बन्न थालेको छ,’ आचार्यले भने, ‘यो चुनौतीको असर ज्येष्ठ नागरिकको जीवनमा परेको छ। उनीहरूले थप हेरचाह पाउनु पर्ने बेलामा अपहेलित त भएका छैन्, यसमा सबै पक्षको ध्यान जान ढिला भइसकेको छ।’
कपन बहुमुखी क्याम्पसका प्रमुख एवं जनसंख्या अध्येता भुमिदत्त पौडेलले २०५८ सालको जनगणनामा ज्येष्ठ नागरिकको जनसंख्या १४ लाख ७७ हजार ३ सय ७९ रहेकोमा २०७८ मा यो संख्या दोब्बरभन्दा बढी भएर २९ लाख ७७ हजार ३ सय १८ पुगेको बताए। पौडेलका अनुसार नेपालको औषत जनसंख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर झण्डै तीनगुणा बढी छ। हाल नेपालको औषत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ। कुल जनसंख्याको १०.२ प्रतिशत मानिसहरू ६० वर्षभन्दामाथिको उमेरका छन्।
सम्मेलनमा पत्रकार तथा जनसंख्या विष्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र मिडिया कभरेजका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए। अधिकारीकोप्रस्तुतिमा ज्येष्ठ नागरिकका समाचार सञ्चार माध्यममा ज्यादै न्यून मात्रामा प्रस्तुत भएको उल्लेख गरिएको थियो। नेपालका टेलिभिजनहरूतर्फ नेपाल टेलिभिजन, सेभेन स्टार फोर केले ज्येष्ठ नागरिक सम्बन्धी अन्तरसंवाद नियमित गर्ने गरेको र यात्री मिडिया नामक युट्युब च्यानलले पनि यस्तो कार्यक्रम नियमित गर्ने गरेको उल्लेख गरेका थिए।

अधिकारीले वैशाख १६ देखि २२ गतेसम्मका सात दिन गोरखापत्र, अन्नपूर्ण र अनलाइन खबरमा प्रकाशित समाचारको अवस्था विष्लेषण गरेका थिए। जसमा सात दिनमा गोरखापत्र र अन्नपूर्ण पोस्टले ज्येष्ठ नागरिक सम्बन्धी एउटा पनि समाचार प्रकाशन गरेको पाइएन। दैनिक करिब ३ सय वटा समाचार प्रकाशन गर्ने अनलाइन खबरले एक सातामा ज्येष्ठ नागरिक सम्बन्धी जम्मा तीनवटा समाचार प्रकाशन गरेको उल्लेख गरेका थिए।
ज्येष्ठ नागरिक सम्बन्धी समाचार भाइरल नहुने, यसमा रिपोर्टिङ गर्नका लागि कुनै पनि मिडिया हाउसले अलग्गै पत्रकारलाई जिम्मेवारी नदिने, ज्येष्ठहरूको मिडियामा पहुँच कम हुने आदि कारणले ज्येष्ठ नागरिक सम्बन्धी समाचार न्यून प्राथमिकतामा परेको उल्लेख गरेका छन्। अधिकारीले दैनिक पत्रिकाहरूलाई ज्येष्ठ नागरिक मैत्री बनाउन अक्षरको आकार बढाउन, केही विषयवस्तु ब्रेललिपिमा प्रकाशन गर्न पनि सुझाव दिएका छन्।
यसैगरी मल्टिमिडिया पनि ज्येष्ठ नागरिक मैत्री बनाउन उनको सुझाव छ। ‘ज्येष्ठ नागरिक सम्बन्धी अथाह विषयवस्तु समाजमा छन्। त्यतिकै मात्रामा तथ्यांक र प्रतिवेदन पनि छन् तर तिनलाई सञ्चार माध्यमले न्यून मात्रामा मात्र कभर गरेका छन्,’ अधिकारीले भनेका छन्, ‘ज्येष्ठ नागरिक मैत्री नीति बनाउन राज्यलाई सुझाव वा दबाब दिन पनि मिडियाको ठुलो भूमिका छ।’
सम्मेलनमा कर्ण शाक्य, स्नेही सायमी, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, डा.रमेशबाबु काफ्ले, डा.तारा काफ्ले, डा.गणेशमान गुरुङ लगायतले ज्येष्ठ नागरिकका विविध पक्षमा आफ्ना प्रष्तुतीहरू राखेका थिए। सम्मेलनमा जापान, चीन, बंगलादेश लगायतका देशका जनसंख्या शास्त्री तथा प्राध्यापकहरूले आफ्नो देशको ज्येष्ठ नागरिक व्यवस्थापन सम्बन्धी तथ्य तथ्यांक पनि प्रस्तुत गरेका थिए।
आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी र ज्येष्ठ नागरिकसँगै जोडिएर आउने नाम भएकाले यो सम्मेलनको सान्दर्भिकता रहेको बताए। उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
.jpeg)
प्रकाशित: २८ वैशाख २०८३ १४:०९ सोमबार




-600x400.jpg)
