२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

इटहरी उपमहानगरपालिका-४ की कृष्णकुमारी विकले सालको पात बेचेर यस वर्षका चाडपर्वका लागि खर्च जुटाउँदै छिन्।

उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाउँदै छिन्। हुन त अरू बेला पनि उनका लागि याे आम्दानीको मुख्य स्रोत हो। हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बेच्ने गरेकाे विकले बताइन्।

उनले भनिन्, “अरू बेला पनि यो काम गरिरहेकी छु तर चाडपर्व लगायत विशेष समयमा बढी बिक्री हुन्छ। अरू समयमा ज्यालामजदुरी समेत गर्छु तर चाडपर्व आएपछि भदौदेखि मङ्सिरसम्म यही काम गर्छु। यसबेला पात बेचाइ राम्रो आम्दानी हुने गरेको छ।”

धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफ्नो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा आठ हजारदेखि १० हजार रूपैयाँसम्मको पात बेचेको सुनाइन्।

सालको पातको माग चाडपर्व, एकादशी, छठपूजा लगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ। यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले पनि पात बेच्छन्। यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ।

इटहरी उपमहानगरपालिका–७ की इन्द्रदेवी घिमिरे पनि चार वर्षदेखि सालको पात बेच्दै आएकी छन्। उनले पनि गाईघाटबाट पात सङ्कलन गरेर बेच्ने गरेकाे बताइन्।

घिमिरेका अनुसार भदौ, असोज र कात्तिकमा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ। “दसैँतिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुन्छ। यसबाट मासिक ३० हजारदेखि ४० हजार रूपैयाँभन्दा बढी आम्दानी हुन्छ। सानो मुठा ४० देखि ६० र ठूलो मुठा १०० रूपैयाँसम्म बिक्री गरिरहेकी छु”, उनले भनिन्।

उनीहरू मात्र होइन, बिनालगानी फुर्सदको सदुपयोग गर्दै पात सङ्कलन र बेच्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाले यस्तै काम गर्न थालेका छन्। पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउन समेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा संलग्नहरूको भनाइ छ। 

प्रकाशित: १७ आश्विन २०८२ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App