रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका ६४ शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चितवनमा सम्भावित जोखिमको आँकलन गर्दै जिल्ला सुरक्षा समितिमार्फत पूर्वतयारी र सतर्कताका काम तीव्र पारिएको थियो। माथिल्लो तटीय क्षेत्रबाट नदीले बगाएर ल्याएका शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला पर्नेक्रम जारी रहेको उनले जानकारी दिए। उद्धार तथा खोज कार्य जारी रहेकाले फेला पर्ने शवको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया र ससम्मान व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर सरकारी तथा निजी स्वास्थ्य संस्थासहित सम्बन्धित सबै निकायसँग समन्वय गरी एकीकृत रूपमा काम भइरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका प्रत्येक शवको फोटोग्राफी, जिपिएस लोकेसन रेकर्ड, मुचुल्का तथा नम्बरिङ गरी शव ब्यागमा ट्याग लगाउने काम भइरहेको छ। त्यसपछि शवलाई जिल्ला अस्पतालको शवगृहमा स्थानान्तरण गरी पहिचानको प्रयास अघि बढाइएको उनले बताए।
प्रहरी उपरीक्षक पौडेलले शवको पहिचान र व्यवस्थापनका लागि प्रहरीको जनशक्ति तथा उपलब्ध स्रोतसाधन पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिए। चितवनमा शववाहन पर्याप्त नभए पनि प्रहरीका सवारीसाधन र उपलब्ध स्रोतसाधन प्रयोग गरी शव व्यवस्थापनको काम भइरहेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा अधिकतम ५० शव राख्न सक्ने क्षमता मात्र रहेकाले मर्चरीमा चाप परेको छ। त्यसैले जिल्ला सुरक्षा समितिको समन्वयमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका उपलब्ध शवगृह, शव ब्याग, शीत भण्डारण र अन्य आवश्यक स्रोतसाधन परिचालन गरी शवको सुरक्षित संरक्षण, पहिचान र कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।
उनले भने, 'अहिलेसम्म अस्पतालको मर्चरीमा शव राखिएको छ। थप शव आएमा व्यवस्थापनमा चुनौती हुन्छ। शवको सङ्ख्या बढेमा हामीले कोल्डस्टोरहरूसँग समन्वय गरेर राख्नुपर्ने हुन्छ।'
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको त्रिशूली नदीको मौवाखोला क्षेत्रदेखि नारायणी नदीको गोलाघाटसम्म शव खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए। उनका अनुसार खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएका छन्।
स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा नदी तटीय क्षेत्रका बासिन्दालेसमेत खोजी कार्यमा सहयोग गरिरहेका छन्। उनले जिल्लाका उपलब्ध सबै सुरक्षा संयन्त्र खोज तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको बताए।
उनले भने, 'त्रिशूली नदीको मौवाखोला क्षेत्रदेखि नारायणी नदीको गोलाघाटसम्म शव खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। खोजी तथा व्यवस्थापन कार्यमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीले समेत सहयोग गरिरहनुभएको छ।'
बाढीले बगाएर ल्याएका ग्याँस, काठ, दाउरा वा अन्य सामग्री खोज्ने उद्देश्यले नदी किनारमा भीड नगर्न आग्रह गर्दै उनले त्यसो गरे कानुनबमोजिम कारबाही गरिने र सङ्कलन गरिएका सामग्रीसमेत जफत गरिने चेतावनी दिए।
उनले बाढीमा फेला परेका शवका विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सम्प्रेषण नगर्न भन्दै त्यस्ता सामग्रीले सर्वसाधारणमा तनाव, त्रास र मनोवैज्ञानिक असर पार्नसक्ने भएकाले तस्बिर वा भिडियो सार्वजनिक नगरी नजिकको सुरक्षा निकायमा तत्काल सूचना दिन प्रशासनले आग्रह गरे।
प्रकाशित: ११ भाद्र २०८३ १०:०९ बिहीबार



-600x400.jpg)

