रसुवाको भोटेकोशी नदीमा बाढी निम्त्याएको स्थानमा फेरि नदी थुनिएर बनेको ताल फुट्ने उच्च जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कताको आपत्कालीन सूचना जारी गरेको छ।
चीन सरकारबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त भू-उपग्रह तस्बिर तथा प्रारम्भिक प्राविधिक विश्लेषणअनुसार भदौ १० गते बाढी उत्पन्न भएको स्थानमै नदी थुनिएर नयाँ ताल बनेको पुष्टि भएको हो।
महाशाखाका अनुसार उक्त तालमा पानीको मात्रा निरन्तर बढिरहेको र बाँध फुटेर तल्लो तटीय क्षेत्रमा पुनः भयानक आकस्मिक बाढी आउने जोखिम देखिएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै महाशाखाले बिहीबार दिउँसो ४:४६ बजे विशेष बुलेटिन जारी गरी अर्को सूचना नआएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा फिल्डमा खटिएका उद्धारकर्मीहरूलाई नदी किनार तुरुन्त छाडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
माथिल्लो जलाधार क्षेत्रमा जुनसुकै बेला ताल फुट्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी किनारका बस्ती तथा उद्धार टोलीलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १७:०३ बिहीबार




-600x400.jpg)
