११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा बाढीमा टीकापुरका ३० बढी व्यक्ति सम्पर्कविहीन

फाइल तस्बिर

रसुवा बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जनाभन्दा बढी अझै सम्पर्कविहीन छन्।

उनीहरू धेरैजसो त्यहाँ जलविद्युत गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयलाई त्यहाँ लैजाने एक जना ठेकेदार तुलाराम चौधरीका अनुसार आफ्ना ३० जना कामदार सुरुङभित्रै फसेका छन्। उनले बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको बताए।

इलाका प्रशासन कार्यालय टीकापुरले कामको क्रममा रसुवामा रहेकाहरूको विवरण संकलन थालेको कार्यालय प्रमुख तारानाथ पनेरुले जानकारी दिए। उनले वडाध्यक्षहरूमार्फत विवरण संकलन भइरहेको बताए।

इलाका प्रशासन कार्यालय टीकापुरका अनुसार सम्पर्कविहीन हुनेहरूमा वडा नम्बर १ समितिपुरका वीरबहादुर चौधरी, सतिषराम चौधरी, मनिराम चौधरी, बादल चौधरी, राजेश चौधरी, जुगराम भनिने शिवनारायण चौधरी र दोर्जे चौधरी रहेका छन्।

त्यस्तै वडा नम्बर १ कै मुक्त कमैया शिविरका बादल चौधरी, विफु चौधरी, मानबहादुर चौधरी र जुगराम चौधरीसमेत सम्पर्कविहीन छन्। वडा नम्बर विपतपुरका साधुराम चौधरीसमेत सम्पर्कमा नरहेको इलाका प्रशासन कार्यालय टीकापुरले जनाएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले रोजगारीका क्रममा रसुवा गएकाहरूका आफन्त सम्पर्कमा आउन थालेको बताए। उनले वडा नम्बर १ बाट मात्रै योभन्दा धेरै व्यक्ति त्यहाँ गएको हुनसक्ने बताए।

स्थानीय अनन्त खड्काले दिएको जानकारीअनुसार टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका ८ जना सम्पर्कविहीन छन्। उनीहरू ठेकेदार तुलाराम चौधरीमार्फत गएका हुन् वा अन्यमार्फत गएका हुन् भन्ने खुलेको छैन।

सम्पर्कविहीन हुनेमा ठगराम चौधरी, धनुवा चौधरी, कमलबहादुर चौधरी, चुन्की चौधरी, चन्द्रबहादुर थारु, सम्झना चौधरी, विष्णु चौधरी र परदेशी चौधरी रहेका छन्। उनीहरू रसुवाको कुन ठाउँमा कार्यरत थिए भन्ने समेत नखुलेको स्थानीय खड्काले बताए।

थारु समुदायका थुप्रै व्यक्तिहरू रोजगारीका क्रममा रसुवा जाने चलन बढेको छ। पछिल्लो समय सयौंको संख्यामा थारु समुदायका व्यक्तिहरू मजदुरी गर्न त्यहाँ पुगेका छन्। यसले रसुवा बाढीमा कैलालीबाट मजदुरीका लागि त्यहाँ पुगेका थुप्रै व्यक्तिहरू हताहती भएको हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै एनएमबी बैंकको टिमुरे शाखामा कार्यरत टीकापुर नगरपालिका वडा नम्बर १ का सुभाष रावलसमेत सम्पर्कविहीन छन्। उनी कार्यरत बैंक रहेको भवन बाढीले बगाएको छ। उनीलगायत बैंकका अन्य कर्मचारीसमेत सम्पर्कविहीन छन्।

प्रकाशित: ११ भाद्र २०८३ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App