स्थानीय प्रशासन र सुरक्षा निकायले वीरगञ्ज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण देखिएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्सा र यहाँका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समुदायस्तरमा नै सचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिमार्फत यहाँको हैजा नियन्त्रणका लागि आवश्यक कदम चाल्दै आएको जानकारी दिए।
‘हैजाको रोकथाम र नियन्त्रणका लागि सबै निकायबिच हातेमालो गरेर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने, ‘कार्यालयले दैनिकजसो सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक समन्वय र सहकार्यको काम भइरहेको छ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले पनि सामुदायिक प्रहरी साझेदारीमार्फत हैजाको रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए। ‘प्रहरीले बिरामीको आवश्यक उद्धार र अस्पतालसम्म पुर्याउने काम गर्दै आएको छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा अहिलेसम्म हैजाको सङ्क्रमित नभेटिएको उनले दाबी गरे। ‘यहाँका दुई जना प्रहरी बिरामी भएर अस्पतालमा भर्ना भए पनि अहिलेसम्म कलेरा सङ्क्रमित भएको भेटिएको छैन,’ उनले भने, ‘प्रहरीले पनि आवश्यक सतर्कता र सावधानी अपनाउँदै आएको छ।’ उनको अनुसार वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीमा कार्यरत एक–एक जना झाडाबान्ता भएका दुई जना अस्पतालमा भर्ना भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले पर्सा जिल्लामा रहेका सशस्त्र प्रहरीको २४ वटै युनिटले प्रत्येक दिन तीन वटा सामुदायमा पुगेर हैजा र झाडापखालाको लक्षण र त्यसको रोकथामका लागि अपनाउनुपर्ने उपायको विषयमा सचेतना कार्यक्रम गर्दै आएको जानकारी दिए।
‘सशस्त्र प्रहरीले दैनिक पर्सामा ७२ वटा समुदायस्तरमा जनचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘यसले पक्कै पनि जनस्तरमा जनचेतना फैलाउनका लागि महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’ सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई पनि दैनिक हैजासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।
गणपति भट्टले पर्सा जिल्लामा रहेका सशस्त्र प्रहरी बलमा अहिलेसम्म हैजाको सङ्क्रमण नदेखिएको दाबी गरे। ‘अहिलेसम्म यहाँका सुरक्षाकर्मीमा हैजाको सङ्क्रमण देखा परेको छैन,’ उनले भने, ‘हाम्रो गण तथा त्यस मातहतका युनिटमा पनि पानी पिउँदा उमालेर वा पियुस राखेर पिउने गरेका छौँ। हैजाको सम्भावित जोखिमलाई ध्यान दिँदै गणमा सागपात पनि एक साताका लागि नखाने निर्णय गरेका छौँ।’ गणपति भट्टले सशस्त्र प्रहरीले पर्सा जिल्लामा हुने जुनसुकै प्रतिकूल अवस्थामा पनि सहयोग र साझेदारी गर्न तयार अवस्थामा रहेको जानकारी दिए।
पर्सामा रहेका नेपाली सेनाले पनि हैजाको सङ्क्रमणबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउँदै आएको जनाएको छ। श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले बाहिरबाट आउने खाद्य सामग्रीमा थप सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए। ‘यहाँ पानी उमालेर वा पियुस राखेर खाने गरेका छौँ,’ उनले भने, ‘यहाँ रहेका नेपाली सेनामा कसैमा पनि अहिलेसम्म हैजाको सङ्क्रमण देखा परेको छैन।’ यद्यपि वीरगञ्ज महानगर र स्वास्थ्य कार्यालय पर्सालगायतका निकायले पनि समुदायस्तरमा जनचेतना फैलाउँदै आएका छन्। रासस
प्रकाशित: ९ भाद्र २०८२ १३:२१ सोमबार





