१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

दोस्रो चरणको सुकुमबासी बस्ती भत्काउने काम शुक्रबारदेखि

शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका बागमती र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको अभियान शुक्रबारदेखि सुरु गर्दैछ।

नदी किनारका जोखिमयुक्त क्षेत्र खाली गराउन र त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्न मन्त्रालयले आवश्यक तयारी पूरा गरेको हो। यसअघि पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकिएको छ।

दोस्रो चरणको प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार मन्त्रालयमा विभिन्न सरकारी निकायहरूको संयुक्त बैठक बसेको थियो।

बस्ती हटाउने प्रक्रिया अन्तर्गत जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशाला पुर्‍याइनेछ।

रंगशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरी उनीहरूको पूर्ण विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ।

पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि ‘स्वघोषणा फारम’ भर्ने कार्य र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा ‘डिजिटल’ तथ्यांक संकलन गरिनेछ।

आश्रयस्थल नभएका परिवारलाई भने होल्डिङ सेन्टरसम्म पुर्‍याउन बसको व्यवस्था गरिएको छ।

विस्थापित हुनेहरूको दराज, टेबुल, खाट जस्ता सरसामानको सुरक्षा र भण्डारणका लागि सुरक्षा निकायले सहयोग गर्नेछन्। दर्ता केन्द्र र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्शको समेत व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार संकलित विवरणका आधारमा वास्तविक सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरिनेछ। पहिचान हुन नसकेका व्यक्तिहरूलाई होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ भने वास्तविक सुकुम्बासीलाई निश्चित अवधिसम्म सहयोग गरी पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।

नदी किनार अतिक्रमण गरी भाडामा लगाउने वा व्यावसायिक गतिविधि गर्नेहरूमाथि छानबिन गरी कडा कानुनी कारबाही गरिने मन्त्रालयले बताएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App