२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता : नेपाल 'एक चीन नीति' प्रति प्रतिबद्ध

राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। राजदूत चाङले बिहीबार सिंहदरबारस्थित उपाध्यक्ष भण्डारीको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।  

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको उपाध्यक्ष भण्डारीको सचिवालयले जनाएको छ।  

भेटमा उपाध्यक्ष भण्डारीले नेपाल 'एक चीन नीति'प्रतिको प्रतिबद्धता दोहोर्‍याइन्। 'हामी 'एक चीन नीति'प्रति सधैं प्रतिबद्ध छौं,' उनले भनिन्, 'हामी हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन दिने छैनौं।'

नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्शाउँदै आएको सम्मानलाई नेपालले सधैं उच्च महत्व दिएको उनले जानकारी दिइन्। आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार अघि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकासलगायत आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।  

चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै उपाध्यक्ष भण्डारीले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री बनाउने दिशामा सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिइन्। 'हामी बेल्ट एण्ड रोड इनिसिएटिभ्स फ्रेमवर्कअन्तर्गत सहमति भएका परियोजनाहरूका साथै अन्य सहयोग परियोजनाहरूको कार्यान्वयनको गतिलाई तीव्रता दिन चाहन्छौं,' उनले भनिन्।  

सो अवसरमा राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताउनुभयो। दुवै देशका राष्ट्रपतिको तहबाट भ्रमण आदानप्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा पुगेको उनको भनाइ थियो।  

नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: १७ वैशाख २०८३ १९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App