बाढीले बगाएर भरतपुरमा फेला परेका शवहरूबाट अमानवीय तरिकाले कानको गरगहना लुटपाट गर्ने समूहको खोजी प्रहरीले तीव्र पारेको छ।
संकटको मौका छोपी विपद्मा ज्यान गुमाएका नागरिकको शवबाटै गहना चोर्ने घृणित कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी परिचालन गरिएको हो।
बाढीका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट गहना निकालिएको विभत्स भिडियो सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ। चितवन प्रहरीले उक्त अमानवीय घटनामा संलग्न गिरोहको खोजी सुरु गरिसकेको जनाएको छ।
यसैबीच, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले सामाजिक सञ्जालमार्फत कानुनी प्रावधान स्मरण गराउँदै संकटको फाइदा उठाएर चोरी गर्नेहरूलाई कडा कानुनी कारबाही हुने चेतावनी दिएकी छन्।
कानुन मन्त्रालयका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा २४२ (१) (ग) बमोजिम भूकम्प, आगलागी, बाढी, हुलदङ्गा, दुर्घटना वा यस्तै सङ्कटापन्न अवस्थाको मौका छोपी सम्पत्ति चोरी गरेमा २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।
प्रकाशित: ११ भाद्र २०८३ १६:५४ बिहीबार



-600x400.jpg)

