२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

छाउगोठमा महिलाहरूको हृदयविदारक चित्कार !

अहिलेसम्म एक जनालाई मात्र सजाय

कञ्चनपुरको कृष्णपुर नगरपालिका नं. १ निगालीकी २८ वर्षीया कमला आउजी तीन बालक छोरालाई घरमै छाडेर नजिकैको छाउगोठमा सुत्न गइन्। आफ्नोमा पानी चुहिने भएकाले जेठानीको छाउगोठमा सुत्न गएकी उनलाई राति करेत सर्पले टोक्यो। सर्पले टोकेकाहरूको मृत्यु देखेकी उनी त्यसपछि अत्तालिइन्, चिच्याइन्, हारगुहार गरिन्।

उनको चिच्याहट सुनेर छिमेकीहरू उनको छाउगोठसम्म आए। त्यसबेला कमलाको बिस्तारामा करेत सर्प घुमिरहेको थियो। त्यसलगत्तै उनलाई अटोरिक्सामा राति साढे १ बजेतिर धनगढी सेती प्रादेशिक अस्पताल पुर्‍याए, भेन्टिलेटर र आईसीयू खाली थिएनन्। बिहान ४ बजेतिर आईसीयूमा राखेर उपचार थालियो तर, कमलाले बाँच्न सकिनन्। त्यही साँझ ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरे। ‘सर्पले टोकेको थाहा पाउनेबित्तिकै राति नै अटोरिक्सामा राखेर धनगढी सेती अस्पताल पुर्‍याएका हौँ तर, बचाउन सकेनौँ,' उनका जेठाजु सिद्ध आउजीले भने। 

कमला तीन नाबालक छोरासहित नेपालमा बस्थिन्। श्रीमान् र सासू-ससुरा रोजगारीका क्रममा भारतमा थिए। उनी ६, ८ र १२ वर्षका तीन नाबालक छोराहरूसँग नेपालमा बस्थिन्। उनका श्रीमान् पुरन आउँदैछन्। त्यसैले कमलाको शव अस्पतालमै छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार उनको शव श्रीमान् पुरन आइपुगेपछि मात्रै उठाइनेछ। सुदूरपश्चिमकै सुगम मानिने कञ्चनपुरको यो कहालीलाग्दो घटनाले कमलाको गाउँ मात्रै स्तब्ध बनेको छैन, सबैलाई बेचैन र क्रोधित बनाएको छ। 

२०७९ मंसिर ६ गते अछाम कमलबजार नगरपालिका नं. ५ मा छाउगोठमा सुतेकी १३ वर्षीया एक बालिका बलात्कृत भइन्। गत वर्षको असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका नं. २ छाउगोठमा १६ वर्षीया एक बालिका मामा नाता पर्ने एक पुरुषबाट बलात्कृत भइन्। अछामगाजरा वडा नं. ६ का १५ वर्षीया रोशनी तिरुवा र तिमेल्सेन गाउँपालिका नं. ७ का ४५ वर्षीया डम्बरा उपाध्याय छाउगोठमै निस्सासिएर बिते। गत वर्षकै माघ १४ गते कैलालीको मोहन्याल गाउँपालिका नं. ७ कुईनेमा छाउगोठमा सुतेको बेला ४५ वर्षीया सरस्वती बिटालु बाघको आक्रमणमा परिन् र घाइेत भइन्।

यी घटनाहरू 'छाउगोठ प्रथा'का कारण घट्ने केही प्रतिनिधि घटना मात्रै हुन्। यस्ता घटनाहरू वर्षौँदेखि घट्दै आएका छन् र यो कहिलेसम्म जारी रहने हो, यसै भन्न सकिने अवस्था छैन। विश्व एआई (कृत्रिम बौद्धिकता) को चमत्कारिक युगमा पुगिसकेको छ तर, नेपाल भने महिला-शरीरमा हुने स्वाभाविक एक प्रक्रिया महिनावारीलाई 'अपवित्र' ठान्ने युगबाट अगाडि सर्न सकेको छैन। महिनावारी भएको बेला घरभित्र सुत्न हुँदैन भन्ने अन्धविश्वास र गलत परम्पराका कारण महिलाहरूले छाउगोठमै अनेकन् दु:ख, पीडा र भलिभाँती भोगेर मृत्युवरण गर्नु परिरहेको छ। 

१८ जनाको मृत्यु

छाउगोठमा कति जना बिते, यसबारे यकिन जानकारी कसैसँग छैन। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाकी प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार २०७३ सालयता मात्रै छाउगोठमा ८ जनाले मृत्युवरण गरिसकेका छन् भने १ जना बाघको आक्रमणबाट घाइते भएका छन्।

'मर्यादित महिनावारी'मा पिएचडी गरेकी मर्यादित महिनावारीकी विश्व अभियन्ता डा. राधा पौडेलले भने अहिलेसम्म छाउगोठमा बस्दा १८ जनाले ज्यान गुमाएको तथ्याङ्क प्राप्त गरेकी छन्। पौडेलकी अनुसार दैलेखमा २ महिलाले ज्यान गुमाएका छन् भने सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र कञ्चनपुरमा १६ महिलाको ज्यान गएको छ।

'२०८१ चैत ८ गते मर्यादित महिनावारीको सङ्कल्प प्रस्ताव सर्वसम्मत पारित हुदाँ पनि तीन तहका सरकार तथा अन्य राज्यका निकायबाट कुनै पहल र काम हुन सकेन,' उनले भनिन्, 'मान्छेको मनमा रहेको डर भत्काउन सचेतनाको प्रयास हुनुपर्छ तर, त्यो भएको छैन।'

घटनासँगै सेलाउँछन् बहस

छाउगोठमा महिलाको मृत्यु भएपछि उठ्ने बहस, चर्चा र आलोचनाहरू छिनमै सेलाउँछन्। छाउगोठ भत्काउने अभियान पनि चल्छ, केही छाउगोठहरू पनि भत्काइन्छन्, सचेतनाका लागि केही अभियान पनि चल्छन् तर, विस्तारै ती सबै काम निष्प्रभावी बन्दै जान्छन्। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका नं. १ मा मात्रै झन्डै एकसय छाउगोठ रहेको स्थानीयहरू बताउँछन्। कमलाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर र नगरपालिकाको पहलमा सोमबारदेखि गोठ भत्काउने अभियान सुरु भएको छ, यो कहिलेसम्म चल्छ, यसै भन्न सकिँदैन। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाकी प्रहरी निरीक्षक अधिकारीले सुदूरपश्चिममा ७ हजार ५ सय ४५ छाउगोठ भत्काएको तथ्याङ्क सुनाइन् तर, घटना दोहोरिन भने छाडेको छैन।

एक जनालाई मात्र सजाय

२०७६ मंसिर १५ गते अछाम साँफेबगर नगरपालिका नं. ३ की २२ वर्षीया पार्वती रावतको छाउगोठमा सर्पले टोकेर मृत्यु भयो। पीडितको तर्फबाट कसैले उजुरी दिन नमाने पनि प्रहरीले मुचुल्का प्रतिवेदनका आधारमा उनका जेठाजु छत्र रावतलाई पक्राउ गर्‍यो र जिल्ला अदालत, अछाममा मुद्दा दर्ता गर्‍यो। जिल्ला अदालतले छाउगोठमा बस्न बाध्य पारेको भन्दै ४५ दिन कैद सजाय हुने फैसला सुनायो। 

अहिलेसम्म छाउगोठमा बस्न बाध्य पारेको भनेर यो १ घटनामा मात्र कानूनी कारबाही भएको अभियान्ता डा. पौडेलले बताइन्। महिनावारी भएका बेला छाउगोठमा अकालमै ज्यान गुमाइरहेका निर्दोष महिलाहरूको चित्कार सुनेर तीन तहका सरकारले गम्भीर पहल थाल्न अब पनि ढिलाइ गरिनु हुँदैन भन्ने आवाज चौतर्फी उठ्न थालेको छ।

प्रकाशित: ३० असार २०८२ २१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App