२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

संवादबाटै असहमतिको समाधान खोज्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

नेपाली कांग्रेसका नेता तथा प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक पार्टीभित्र देखिने असहमतिको समाधान संवादबाट हुने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत चालिसेले पार्टीभित्रका मतभेद विधान, मूल्य, मान्यता र संस्थागत प्रक्रियाभित्र रहेर व्यवस्थापन गर्नुपर्ने भन्दै सहमतिका लागि संवादलाई प्राथमिकता दिनुपर्ने र सहमति हुन नसके फरक मत अभिलेख रहे पनि अन्तिम निर्णय महाधिवेशनले स्पष्ट गर्ने बताएका हुन्। 

उनले लोकतान्त्रिक संस्कारको मूल आधार नै संवाद र विधिसम्मत निर्णय प्रक्रिया भएको बताउँदै पार्टीभित्रको असहमति लोकतन्त्रको शक्ति भए पनि त्यही असहमति अन्तहीन विवादमा परिणत भए संस्थाकै कमजोरी बन्ने बताएका हुन्। 

चालिसेले प्रत्येक परिवर्तनलाई अस्वीकार गर्ने, हरेक निर्णयलाई अनन्त विवादमा बदल्ने तथा अदालत वा शक्ति संघर्षमार्फत चुनौती दिने प्रवृत्ति बढ्दै गए विगतको विशेष महाधिवेशन मात्र नभई आगामी महाधिवेशनहरू पनि नयाँ विवादको सुरुआत बन्न सक्ने बताएका छन्। 

‘संस्थामाथि विश्वास गरौँ, असहमतिलाई संस्थाको विधान र पद्धतिभित्र रहेर व्यवस्थापन गरौँ। संवादको माध्यमबाट समाधान खोजौँ,’ उनले आग्रह गरेका छन्। 

प्रवक्ता चालिसेले विधान अनुकूल हुँदा स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थागत राजनीति निर्माण नगरी व्यक्तिकेन्द्रित राजनीति मात्र जन्माउने र यसले पार्टी संगठनलाई न्याय नगर्ने बताएका छन्। 

प्रकाशित: २१ श्रावण २०८३ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App