रौतहटको राजपुर नगरपालिका वडा २ फतुवा महेशपुरस्थित हुलाकी सडकखण्डको पश्चिम लच्कामा लालबकैया नदीको जलस्तर बढेपछि सडक अवरुद्ध भएको छ।
निरन्तर केहिदिन देखि परेको वर्षाको कारण लाल बकैया नदीमा आएको बाढीको पानी हुलाकी सडक भएर बग्न थालेपछि सवारी आवागमन प्रभावित बनेको हो।
जिल्लाको झाझ, चादी तथा लालबकैया नदीमा आएको बाढीको पानीले गरुडा, माधवनारायण, राजपुर, इशनाथ र गौर नगरपालिकाका साथै यमुनामाइ गाउँपालिका र दुर्गा भगवती गाउँपालिका अन्तर्गत पर्ने अधिकांश खेतीयोग्य जमिन डुबान परेका छन्।
सडकमा बाढीको पानीको बहाव बढेपछि सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस फतुवाबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) टोली परिचालन गरिएको छ।
टोलीले घटनास्थलमा पुगेर अवस्थाको निरन्तर निगरानी गर्नुका साथै स्थानीयवासीको सुरक्षा, सहजीकरण तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
यसैगरी चादी नदीमा आएको बाढीको कारण गरुडा(समनपुर सडक खण्ड अन्तर्गतको मलाही गाउँ नजिक सडक बगाएको कारण स्थानीय सास्ती खेप्दै आएका छन्।
बाढीको पानीले सडकभरि खाल्डाखुल्डी, हिलो तथा पानी जम्ने समस्याले दुर्घटनाको जोखिम बढाएको छ। पानीको बहाव तीव्र बनेको कारण नगरपालिकाले बाटोमा अस्थायी डाइभर्सन समेत नबनाएको कारण उक्त बाटो भएर यात्रा गर्ने विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारण यात्रु प्रभावित भएका छन्।
सम्बन्धित निकायले समयमै सडक मर्मत तथा स्तरोन्नति नगर्दा आवागमन कष्टकर हुनुका साथै आर्थिक क्षति र समयको समेत नोक्सानी भइरहेको छ।
प्रकाशित: २१ श्रावण २०८३ १४:२० बिहीबार





