२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अशक्त भएका श्रमिकका छोराछोरीलाई छात्रवृत्ति

तीन हजार ३६३ मध्ये सबैभन्दा बढी लुम्बिनीमा

फाइल तस्बिर

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अशक्त भएका श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म देशभरका ३ हजार ३६३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ।

बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेमध्ये १ हजार ७८१ जना छात्र र १ हजार ५८२ जना छात्रा रहेका छन्।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी लाभग्राही लुम्बिनी प्रदेशका रहेका छन्। लुम्बिनीका ७७८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसपछि कोशी प्रदेशका ७३७ जना, मधेश प्रदेशका ७१३ जना र गण्डकी प्रदेशका ५३१ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्।

यस्तै, बागमती प्रदेशका ३८१ जना विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएका छन्। कर्णाली प्रदेशका १३८ जना र सुदूरपश्चिम प्रदेशका ८५ जना विद्यार्थीले पनि छात्रवृत्ति प्राप्त गरेका छन्।

बोर्डका अनुसार प्राप्त भएका निवेदनहरूको आवश्यक कागजात तथा मापदण्डका आधारमा छनोट गरी छात्रवृत्ति वितरण गरिएको हो। मृत्यु भएका वा अशक्त भएका श्रमिकका परिवारका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बोर्डले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बोर्डले छात्रवृत्तिका लागि निवेदन दर्ता हुने क्रम अझै जारी रहेकाले आगामी दिनमा लाभग्राही विद्यार्थीको संख्या थप बढ्ने जनाएको छ।

प्रकाशित: २६ असार २०८३ १९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App