मोरङको उर्लाबारीस्थित बक्राहा खोला किनारमा एक महिलाको शव फेला परेको छ।
उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा मंगलबार बिहान महिलाको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार शव उर्लाबारी–१ लक्ष्मीझारकी ४३ बर्सिया सविता कान्दाङ्वा लिम्बूको भएको पुष्टि भएको छ। उर्लाबारीमै सिलाइ कटाइको काम गर्दै आएकी सविता जेठ ९ गते शनिबार देखि हराइरहेकी थिइन्।
सविता हराएको ४ दिनमा उनको शव खोला किनार छेउ काँसघारीमा भेटिएको हो। बक्राहा खोला किनारको काँसघारीमा स्थानीयले राँगा चराउन जाँदा शव देखेपछि बिहान पौन ८ बजेतिर प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वली नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार परबाट हेर्दा शव सुन्निएको र घोप्टो परेको अवस्थामा छ।
मृतकको सनाखत उनले लगाएका कपडाको आधारमा श्रीमान् दिलबहादुर लिम्बूले गरिदिएका डिएसपी श्रेष्ठले बताए। उनले भने, ‘घटनाका बारेमा तेह्रथुममा रहेका माइती पक्षलाई पनि जानकारी गराइसकिएको छ। उनीहरूले आफूहरू आइनपुगेसम्म शव नचलाउन आग्रह गरेका छन्। अहिले शव घटनास्थलमै छ।’
माइती पक्ष आइपुगेपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए। अहिलेसम्म महिलाको मृत्युको कारण यकिन भइसकेको छैन। थप अनुसन्धानपछि घटनाको वास्तविक कारण पत्ता लाग्ने डिएसपी श्रेष्ठले बताए।
शनिबार बिहान ९ बजेतिर परिवारका सदस्यलाई जानकारी नदिईकन घरबाट मृतक सविता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। माइती पक्ष घटनास्थल नआई पुगे पनि घटनाको अन्य विभिन्न तवरबाट अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ जेष्ठ २०८३ १३:४४ मंगलबार





