जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम र स्वच्छ ऊर्जा उत्पादनमा नेपालको सम्भावनालाई न्यूयोर्कमा आयोजित अन्तर्राष्ट्रिय जलवायु कार्यक्रममा प्रस्तुत गरिएको छ।
न्यूयोर्क जलवायु सप्ताहका अवसरमा सेप्टेम्बर २४ मा फोसिल फ्युल नन–प्रोलिफेरेसन ट्रिटी इनिसिएटिभले आयोजना गरेको स्वागत समारोहमा सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले हिमाली समुदायले भोगिरहेको संकट र नेपालको नवीकरणीय ऊर्जा सम्भावनाबारे चर्चा गरिन्।
आदिवासी समुदायका अगुवा, विश्वव्यापी जलवायु अभियन्ता तथा विभिन्न देशका सरकारी प्रतिनिधि सहभागी कार्यक्रममा ज्ञवालीले नेपालको पछिल्लो बाढीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै जलवायुजन्य विपद् सामना गर्न विकसित र विकासशील देशबीच रहेको स्रोत, प्रविधि र पूर्वतयारीको असमानताप्रति ध्यानाकर्षण गराइन्।
उनले गत अगस्टमा नेपालमा आएको बाढीका क्रममा त्रिशूली नदीको जलसतह तीव्र गतिमा बढेको घटना स्मरण गर्दै स्विट्जरल्यान्डको ब्लाटेनमा भएको हिमनदीजन्य विपद्सँग तुलना गरिन्।
‘भौतिक प्रक्रिया उही हो, तापक्रम बढिरहेको संसार पनि उही हो। फरक यति हो कि उनीहरूसँग दस दिनको पूर्वसूचना थियो। हामीसँग त्यस्तो निगरानी प्रणाली, स्रोतसाधन, दक्षता र प्रविधि छैन,’ ज्ञवालीले भनिन्।
उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले गम्भीर जोखिम भोगिरहे पनि त्यसको सामना गर्ने क्षमता र स्रोतमा ठूलो असमानता रहेको बताइन्।
ज्ञवालीले नेपालको जलवायु संकटसँगै स्वच्छ ऊर्जा उत्पादनको सम्भावनालाई पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिन्। जीवाश्म इन्धनको उत्खनन अन्त्य गर्नु आर्थिक विकास रोक्नु नभई विकासका लागि नयाँ ऊर्जा प्रणाली अपनाउनु भएको उनको भनाइ थियो।
‘जीवाश्म इन्धनको उत्खनन अन्त्य गर्नु भनेको आर्थिक वृद्धि रोक्नु होइन। विकास र जलवायु संरक्षणमध्ये एउटा मात्रै रोज्नुपर्छ भन्ने पनि होइन। यसको अर्थ विकासका लागि फरक ऊर्जा स्रोत रोज्नु हो,’ उनले भनिन्।
उनले नेपालको नवीकरणीय ऊर्जा, जलवायु अनुकूल पूर्वाधार र क्षेत्रीय ऊर्जा सञ्जाल विस्तारमा अन्तर्राष्ट्रिय लगानी बढाउन आग्रह गरिन्। दक्षिण एसियामा बढ्दो ऊर्जा माग सम्बोधन गर्न नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको धारणा थियो।
‘हिमालयको संरक्षण नेपालमाथि गरिने दान होइन, यो दक्षिण एसियाको भविष्यमा गरिने लगानी हो,’ ज्ञवालीले भनिन्।
उनले कोइला, तेल र ग्यासको उत्खनन विस्तार रोक्ने, विद्यमान उत्पादन क्रमशः घटाउने न्यायोचित मार्ग तय गर्ने र स्वच्छ ऊर्जामा रूपान्तरणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्ने विश्वव्यापी संरचनाको आवश्यकता औँल्याइन्।
‘हामीलाई संसारले ऊर्जा उत्पादन गर्ने तरिका परिवर्तन गर्न आवश्यक छ। नेपाल त्यो भविष्यको हिस्सा बन्न तयार छ,’ उनले भनिन्।
सम्बोधनको अन्त्यमा ज्ञवालीले जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारी वहन गर्न आग्रह गरिन्। ‘एउटा देशले सही काम गर्दा के गर्न सक्छ भन्ने नेपालले देखाइसकेको छ। अब सही काम गर्दागर्दै पनि सुरक्षित हुन नसकेको देशका लागि विश्वले के गर्न सक्छ, त्यो देखाउने समय आएको छ,’ उनले भनिन्।
कार्यक्रममा लेनापे समुदायकी प्रमुख लेनाले स्वागत मन्तव्य राखेकी थिइन्। फोसिल फ्युल नन–प्रोलिफेरेसन ट्रिटी इनिसिएटिभकी अध्यक्ष तथा जलवायु अभियन्ता जेपोरा बर्मन, केन्याका नवीकरणीय ऊर्जा सचिव डा. इन्जिनियर आइज्याक किभा, घानाका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी राज्यमन्त्री इसिफु सेइदु र सन् २०२६ की गोल्डम्यान वातावरण पुरस्कार विजेता युवेलिस मोरालेस ब्लान्कोलगायतले पनि सम्बोधन गरेका थिए।
प्रकाशित: १० आश्विन २०८३ २०:२२ शनिबार





