तीन दिनयताको निरन्तर वर्षाका कारण उदयपुरका अधिकांश सडक अवरुद्ध भएका छन्।
पहाडी भेगमा पहिरो र तल्लो समथर भू-भागमा खोलाहरूको कटान तथा डुबान बढेपछि सदरमुकाम गाईघाटसँग ग्रामीण भेगको यातायात सम्पर्क विच्छेद भएको छ।
मौसम पूर्वानुमान अनुसार भारतमा विकसित चक्रीय प्रणालीको प्रभावले निरन्तर झरी परिरहेको छ। विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले गाईघाट-दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत साउनेदेखि रसुवाघाटसम्म तथा सिद्धिचरण लोकमार्गको कटारीदेखि घुर्मीसम्मको सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन यात्रामा रोक लगाएको छ।
बिहीबारदेखि १२ असोजसम्म प्रशासनले राति गाडी चलाउन रोक लगाए पनि सडकको जीर्ण अवस्थाका कारण व्यवसायीहरूले दिउँसोसमेत सवारीसाधन चलाउन सकेका छैनन्।
वर्षाले जिल्लाका ग्रामीण तथा आन्तरिक कच्ची सडकहरू पूर्ण रूपमा अवरुद्ध बनेका छन्। गाईघाटदेखि मुर्कुची, माझखर्क हुँदै बराहा जोड्ने गाईघाट-लिमचुङबुङ सडक, भुट्टार-रौतामाई खण्ड र उदयपुरगढीका आन्तरिक सडकहरू ठप्प छन्।
यस्तै, कटारी नगरपालिकाका पहाडी वडा जोड्ने कच्ची बाटो, चौदण्डीगढीको बेल्टार-सिद्धिपुर-साउने खण्ड तथा बेलका नगरपालिकाको केन्द्र रामपुरदेखि पहाडी वडाहरू मैनामैनी, बबला र पोखरे जोड्ने सडकहरू हिलाम्मे हुँदा मोटरसाइकलसमेत गुड्न नसक्ने अवस्था बनेको छ।
पहाडी भेगमा मात्र नभई तराई र समथर भू-भागमा पनि खोला-खहरे बढेर आवतजावत ठप्प पारेको छ। त्रियुगा नगरपालिका-१ जोगीदहबाट सदरमुकाम गाईघाट जोड्ने कङ खोला, त्रियुगा र ठाडी खोलामा बाढी आउँदा वडा र नगरको सम्पर्क टुटेको वडाध्यक्ष मनोज चौधरीले जानकारी दिए।
यस्तै, बेलका नगरपालिकाका १, २, ३, ४ र ९ नम्बर वडाका भू-भागहरू जलमग्न भएका छन्। वडा नम्बर-९ का अध्यक्ष भरत घिमिरेका अनुसार अविरल वर्षाले डुबान र कटानको समस्या निम्त्याउनुका साथै कच्ची सडकहरू पानीले भरिएर यातायात सञ्चालन पूर्ण प्रभावित भएको छ।
त्रियुगा नगरपालिका-१६ जालपा चिलाउनेका वडाध्यक्ष मानबहादुर राईले पहाडी कच्ची सडकमा पहिरो खस्ने र बाटो चिप्लने समस्याले यातायात बन्द भएको बताए।
यता, रौतामाई-७ मुर्कुचीदेखि रौतापोखरी जोड्ने निर्माणाधीन सडकमा खसेको पहिरोले खेतबारी पुर्नुका साथै सवारी आवागमन पूर्ण रूपमा रोकेको छ।
अविरल वर्षाले विकट पहाडी गाउँपालिका लिमचुङबुङ र ताप्लीलाई सबैभन्दा बढी प्रभावित बनाएको छ। गाईघाटदेखि मुर्कुची, पुँवारे, माझखर्क हुँदै लिमचुङबुङ जोड्ने सडकका दर्जनौँ ठाउँमा पहिरो खसेकाले बोलेरो र मोटरसाइकलसमेत चल्न नसकेको बोलेरो चालक निशान राईले बताए।
ताप्लीका आन्तरिक सडकहरू पनि क्षतविक्षत भएको चालक दीपक मगरले बताए। कच्ची सडक मर्मत गरे पनि वर्षाले पुनः उस्तै बनाउने भएकाले स्थायी रूपमा स्तरोन्नति र कालोपत्रे गर्न पर्याप्त बजेट व्यवस्था गर्न जनप्रतिनिधिहरूले माग गरेका छन्।
प्रकाशित: १० आश्विन २०८३ २०:०३ शनिबार





