७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सातुको सर्बत

खानपान

लहानको मुख्य चोकबाट पाँच सय मिटर उत्तर लागेपछि आउँछ घण्टाघर। त्यहाँबाट सिधा उत्तर लागेपछि दुर्गा मन्दिर पुगिन्छ। अलिक अगाडि उत्तर लागेपछि सेतै फुलेको कपाल र निधारमा चन्दन लगाएको वृद्ध ठेला अगाडि उभिएका हुन्छन्। बिहान करिब ७ बजेदेखि १० बजेसम्म ७२ वर्षीय दिनेश्वर साह ठेलामा चनाको सातु बेच्छन्।

गर्मीको सुरुवातसँगै दिनेश्वरको चनाको सातु पिउनेहरूको भिड हुन्छ। उनको सातुमा जादु छ, शरीरलाई स्फूर्ति र ताकत दिने जोस छ। उनको सातुको हल्का पहेँलो रङ, त्यसमाथि छर्किने मसलाले सातुको स्वाद गज्जब बनाइदिन्छ। उनको सातुले हरेक वर्ग समुदायका मानिसलाई जोडेर राखेको छ।

यहाँका सातु पारखी राकेश गुप्ता भन्छन्–सातु खानुको मजा नै दिनेश्वरको हो। शुद्धता मात्र होइन, स्वाद पनि अतुलनीय छ उनको सातुमा।

बिहान ४ बजे उठेर नित्यकर्मसँगै ६ बजेपछि ठेला तयारी गर्न जुट्छन्, लहान नगरपालिका–७ का साह। उनी गोटा चना किनेर आफैं सातु तयार गर्छन्। उनको सातु तयार गर्ने आफ्नै नियम छ।

पहिला चनालाई तातो पानीको बाफमा उमाल्छन्। त्यसपछि हावामा सुकाउँछन्। अनि बोक्रा निकाल्छन् । त्यसपछि पिँनेर सातु तयार पार्छन्। उमाल्ने बेलामा कमसल देखिने चना अलग पार्छन्।

करिब अढाई दशकदेखि उनी लहानमा सातु बेच्दै आएको सुनाउँछन्। दुई रुपैयाँ गिलासबाट सातु बेच्न सुरु गरेका उनी अहिले ३० रुपैयाँ गिलास सातु बेच्दै आएका छन्। लहान क्षेत्रमा सातुको सुरुवात उनैले गरेका हुन्।

अहिले उनको देखासिकी गरेर लहानमा मात्र ३० भन्दा बढी सातु पसल भइसकेका छन्। उनकै सिको गरेर लहानका नन्दकुमार सिंहले पनि सातु बेच्न सुरु गरे। उनी सातु बेच्न थालेको पनि डेढ दशक भइसकेको बताउँछन्। उनले पनि दिनमा एक सय गिलास सातु बेच्दै आएको बताउँछन् तर दिनेश्वरको सातुको स्वाद पाइसकेका पारखी उनलाई खोज्दै उनी भएकै ठाउँ आइपुग्छन्।

दिनेश्वरले दिनमा १० किलोसम्म सातु बेच्छन्। एक किलो सातुमा २० गिलास सर्बत तयार पारिन्छ। मसलामा उनले सुप, जिरा, अजवाइन, बिरे नुन प्रयोग गर्छन्। यी मसला उनले घरमै तयार पार्छन्। सातुमा मिसाउने पानी उनी माटोको ठुलो भाँडोमा राख्छन्। सो भाँडोलाई सधैं कपडा भिजाएर छोपेका हुन्छन्। उनी सातुको सर्वत बनाउँदा तराजुमा जोखेर भाँडोमा खन्याउँछन्। त्यसमा पानी मिसाउँछन्। अनि काठको घोट्नेको सहारामा घोट्छन्। अनि गिलासमा हालेर मसला र कागती हालेर ग्राहकलाई पस्किन्छन्।

पहिला लहानभरि ठेला गुडाउँदै सातु बेच्दै आएका दिनेश्वर अहिले घरदेखि दुर्गा मन्दिर र पशुपति आदर्श माविको गेटसम्म खुम्चिएका छन्। उमेरका कारण उनी धेरै घुम्न सक्दैनन्।

सातु बेचेरै उनले चार छोराहरूलाई आत्मनिर्भर बनाए। अहिले चारै छोराहरू आफ्नै व्यवसाय गर्दै आत्मनिर्भर छन्। दिनेश्वर दम्पती भने सातुकै व्यवसायलाई निरन्तरता दिँदै छन्।

हुन त सातु खाने चलन मिथिलामा नौलो भने होइन। वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा जौको सातु र सर्वत खाने चलन परापूर्वकालदेखि चल्दै आएको छ। सातुको महत्त्व आयुर्वेदमा समेत प्रस्ट पारिएको छ। सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी आदि नाशक भनेर उल्लेख गरिएको छ। नियमित सातु खाने मानिसलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताइएको छ। लामो यात्रामा हिँड्दा वा कामकाजमा व्यस्त हुनेले नियमित रूपमा सातु खाने परम्परा विगतमा थियो।

शीतलताका लागि पनि सातु निकै राम्रो खाद्यवस्तु मानिन्छ। गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पनि पर्याप्त शीतलता मिल्छ।

सातुको प्रकारहरूमा पनि विविधता र आधुनिकता आएको छ। सातु भन्नेबित्तिकै चनाकै बुझिन्छ तर अन्य अन्नबाट पनि सातु तयार गर्न सकिन्छ। अचेल धेरैले चनासँग मकै, भटमास, जौ, गहुँ र चामल पनि मिसाउने गरेका छन्। यसले सातुलाई सन्तुलित र पौष्टिक बनाउन मद्दत नै गरेको छ।

कुनै पनि स्वस्थ व्यक्तिलाई प्रतिदिन १८ सयदेखि २२ सय क्यालोरी ऊर्जा (कार्बोहाइड्रेट, प्रोटिन, फ्याट आदि सबैबाट) आवश्यक हुन्छ। स्वास्थ्यका जानकारहरूका अनुसार एकजना निस्क्रिय पुरुषका लागि ५६ ग्राम प्रोटिन र महिलाका लागि ४६ ग्राम प्रोटिन आवश्यक पर्छ। एक आउन्स चना (२८ ग्राम चना) बाट ८ ग्राम कार्बोहाइड्रेट, २ ग्राम बोसो र ३ ग्राम प्रोटिन प्राप्त हुन्छ । साथै २८ ग्राम चनाबाट ४६ क्यालोरी ऊर्जा प्राप्त हुन्छ। चनाको पिठोमा कोलेस्ट्रोल भने हुँदैन।

सातुमा आइरन, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फाइबर आदि पाइन्छन्। फाइबर अधिक हुने सातु प्रोटिनले भरिपूर्ण र बोसोमुक्त खाना भएकाले चिकित्सकहरूले मधुमेहका रोगीहरूलाई पनि खान सल्लाह दिन्छन् । सातुले मांसवृद्धि गराउँछ र शरीरलाई बलियो बनाउँछ।

सातुले पाचन प्रणालीलाई तन्दुरुस्त राख्छ। कब्जियत हटाउँछ, मोटोपन नियन्त्रण गर्छ। रक्तचाप सन्तुलित राख्न सहयोग गर्छ, पेटमा सञ्चित विष (टक्सिन) निकाल्छ। बिहान खाली पेटमा र दिउँसो भोक लागेको बेला खाइएको सातुले शरीरलाई ऊर्जा र मनलाई पनि सन्तुष्टि प्रदान गर्छ।

सातुमा भएको फाइबरले कब्जियत खुलाउँछ। सजिलै पच्ने र अवशोषण हुने हुँदा यसले तत्कालै ऊर्जा दिन्छ। यसमा भएको पोटासियम र म्याग्नेसियमले भोक जगाउँछ। शरीरको कुनै अंगमा पानी वा हावा जमेर सुन्निएको ठाउँमा राहत दिन्छ। शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्छ।

रगतका रातो रक्तकोशिकाहरूको अक्सिजन बोक्ने क्षमता बढाउँछ। रक्तकोशिकाहरूलाई सन्तुलित र सक्रिय तुल्याउँछ, जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मद्दत गर्छ। यसमा भएको आइरनले रक्तअल्पता हुनबाट पनि बचाउँछ। कमजोर पाचन प्रणाली भएका बच्चा र वृद्धहरूले पनि सातु सजिलै पचाउँछन्।

आयुर्वेदले सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी, बन्द घाउ आदि नाशक भनेर उल्लेख गरेको छ। यसले दैनिक सातु सेवन गर्नेलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताएको छ।

यसअतिरिक्त सातु खानेहरूलाई सावधानी अपनाउन पनि आयुर्वेदले सुझाएको छ। सातु खाइरहेका बेला बिचबिचमा पानी खान र एकै दिन दुई पटक सातु खान भने वर्जित गरिएको छ।

त्यसैगरी सातु राति नखान, दाँतले चबाई–चबाई नखान र अत्यधिक मात्रामा नखान पनि निर्देश गरिएको छ।

प्रकाशित: ७ चैत्र २०८२ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App