मौसमविद्हरूले आइतबारदेखि काठमाडौंलगायत देशभरि क्रमशः मौसम खुल्ने अनुमान गरेका छन् । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार जस्तै शनिबार पनि काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा वर्ष हुने, बदली हुने, हावाहुरी चल्ने, चट्याङ पर्ने सम्भावना छ । ‘तर आइतबारदेखि मौसम विस्तारै खुल्दै जानेछ’, उनले भने।
काठमाडौंलगायत विभिन्न भागमा शुक्रबार वर्षा भएको छ। वर्षासँगै कतिपय स्थानमा असिना र हिउँ परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको बबरमहलमा २०.६ मिलिमिटर वर्षा मापन गरिएको छ। यो भनेको ठुलो वर्षा हो। वर्षासँगैको हावाहुरीले केही ठाउँमा क्षति पुगेको छ।
सबैभन्दा धेरै वर्षा डडेलधुरामा भएको छ। डडेलधुरामा २४.७ मिलिमिटर वर्षा मापन गरिएको छ। यसैगरी घोराहीमा ११.६ मिलिमिटर वर्षा भएको छ। विभागले शनिबार पनि देशका विभिन्न ठाउँमा वर्षा हुने, हिउँ पर्ने, असिना पर्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने सम्भावना रहेको जनाएको छ। विभाग मातहतकै मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने छ। महाशाखाले शनिबार दिउँसो देशभर बदली हुने, कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। शनिबार राति मौसम केही सुधार हुँदै सीमित स्थानमा हल्का वर्षा मात्र हुने महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार आइतबार पहाडी र हिमाली भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली हुनेछ। दिउँसो केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति अधिकांश स्थानमा आंशिक बदली हुनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान मौसमविद्को छ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले शुक्रबार र शनिबार विभिन्न ठाउँमा हावाहुरी चल्ने, चट्याङ पर्ने र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन सर्वसाधारणलाई सचेत गराउँदै आएको छ।
प्रकाशित: ७ चैत्र २०८२ १४:२४ शनिबार





