खोटाङको साकेला गाउँपालिकाले विगत दुई वर्षयता ‘श्रम साकेला अभियान’ सञ्चालन गर्दै आएको छ। जस अन्तर्गत शनिबार वडा नम्बर–२ को आयोजनामा जिल्लाकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साकेला थान र परिसरको पार्कक्षेत्र सरसफाइ गरिएको छ।
वडा कार्यालयको आयोजना रगाउँपालिका अध्यक्ष रविप्रकाश राईको अगुवाइमा शनिबार श्रमदानबाटै बृहत् सरसफाइ कार्यक्रममार्फत साकेला थान र पार्कको सरसफाइ गरी चिटिक्क पारिएको छ। हजारौं वर्ष पुरानो ऐतिहासिक तथा धार्मिक साँस्कृतिक धार्मिक पर्यटकीय स्थल सम्पदाको रूपमा मानिएको साकेला थानखोटाङको मात्र नभएर पूर्वी भेगकै महत्वपूर्ण सम्पदा हो। जसको संरक्षण र सम्वर्द्धन गर्न थान परिसरमा साकेला पार्क पनि निर्माण गरिएको छ।
साकेला थानको संरक्षणसँगै सौन्दर्यीकरण गर्नका लागि गाउँपालिकाले केही वर्षअघि आकर्षक पार्कसमेत निर्माण गरेको छ। साकेला थान र पार्कको सरसफाइमा निरन्तरता दिने उद्देश्यले जनश्रमदान अभियान चलाइएको गाउँपालिका अध्यक्ष राईले बताए। अध्यक्ष राईसँगै श्रमदान सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता थियो।
अध्यक्ष राईले स्वच्छता केवल सरसफाइको काम मात्र नभई सभ्य समाज निर्माणको आधार पनि भएको उल्लेख गर्दै धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिने बताए। साकेला गाउँपालिकाले विकासलाई केवल भौतिक पूर्वाधारमा मात्र सीमित नराखी वातावरणीय सन्तुलन, साँस्कृतिक संरक्षण, शैक्षिक सुधार र सामुदायिक सहभागितालाई पनि सँगै जोडेर अघि बढाइरहेको उनले बताए।
जनश्रमदान संस्कृतिले गाउँलेहरूमा अपनत्व र जिम्मेवारी बोधको भावना बलियो बनाउँदै लगेको पाइएको बताउँदै अध्यक्ष राईले श्रमदानमा सक्रिय सहभागी हुने सबै जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई धन्यवाद दिए। आगामी दिनमा पनि निरन्तर चल्ने यस्तो अभियानमा साथ दिन पनि अध्यक्ष राईको आग्रह थियो।
साकेला गाउँपालिकाले सफा, स्वच्छ र सुन्दर बनाउने लक्ष्यसहित 'पूर्ण सरसफाइ अभियान' मा प्राथमिक्ता दिँदै अघि बढेको छ। यस अन्तर्गत विभिन्न वडामा सरसफाइ, फोहर व्यवस्थापन तथा सार्वजनिक स्थलको संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै ल्याएको छ।
सामूहिक श्रमदानलाई संस्थागत गर्दै ल्याएको साकेलाले श्रमदानमार्फत नै विभिन्न सडक, खानेपानी, सिँचाइ, सरसफाइ तथा सार्वजनिक स्थलहरूको मर्मत सम्भार गर्दै आएको छ। सामूहिक श्रमदान अभियानले बजेट अभावमा पिल्सिएका थुप्रै विकास निर्माणका योजनाहरूले पुनर्रूप लिँदै गएपछि स्थानीयवासी श्रमदानप्रति आकर्षित हुँदै गएका छन्।
प्रकाशित: ६ वैशाख २०८३ १२:५२ आइतबार





