लहान नगरपालिका–१३ घलेटोलस्थित मुसहर बस्तीका २० परिवारलाई लहान नगरपालिकाले सुरक्षित पक्की घर हस्तान्तरण गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमबीच ती परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेका हुन्।
पक्की घर पाएकाहरू अति विपन्न मानिने मुसहर समुदायका सबै सुकुम्बासी हुन्। उनीहरू यसअघिदेखि फुसको छाप्रोमा कष्टपूर्ण जीवन बिताउँदै आएका थिए। उनीहरूको छाप्रो भएकै जग्गामा नगरपालिकाको ‘विपन्नका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत पक्की घर निर्माण गरिदिएको हो।
यी पक्की घरहरूमा दुईवटा बस्ने कोठा र एउटा भान्सा कोठा छन्। घरमाथि जस्ता हालिएको छ भने तल बाँसको प्रयोग गरी प्लास्टर गरिएको छ। नगरपालिकाको ६९ लाख ४ हजार ५ सय ९६ रुपैयाँ, हेविटेट फर ह्युम्यानिटी नेपालको १६ लाख ६६ हजार ६ सय ९६ रुपैयाँ लगानी, लाभग्राहीहरूको साढे २१ लाख रुपैयाँ बराबरको श्रमदान तथा भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोगमा घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
यी घरहरूको आयु ३० वर्षभन्दा बढी हुने नगरप्रमुख चौधरीले जानकारी दिए।
“राज्य विपन्न नागरिकका लागि हुनुपर्छ। यही दायित्वबोध भएर हामीले दलित सुकुम्बासीहरूलाई सुरक्षित घर बनाउने अभियान चलाएका छौँ,” मेयर चौधरीले भने, “विपन्न सुकुम्बासीलाई हामीले घर मात्र दिएका छैनौँ, राज्य छ भन्ने भरोसाको अनुभूति पनि गराएका छौँ।”
राज्यले सुकुम्बासी बस्तीलाई विस्थापित नगरी स्थापित गर्छ भन्ने प्रत्याभूति दिलाउन सकेकोमा आफू सन्तुष्ट भएको उनले बताए। मेयर चौधरीका अनुसार नगरपालिकामा हालसम्म वडा नं. १५, १२, २२, २१ र १३ मा गरी झन्डै २ सय यस्ता सुरक्षित घर निर्माण भइसकेका छन्।
प्रकाशित: ८ जेष्ठ २०८३ १६:४२ शुक्रबार





