भैरहवामा अत्यन्तै दुर्लभ र विषालु मानिएको रस्सेल्स भाइपर सर्प फेला परेको छ। यो सर्पको विष हेमोटोक्सिनमा असर गर्ने प्रकारको हुन्छ, जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ।
विश्वका सबैभन्दा खतरनाक सर्पमध्ये यसलाई ७औं स्थानमा राखिएको छ। नेपालमा पाइने विषालु सर्पमा यो दोस्रो स्थानमा पर्छ।
यदि समयमै उपचार पाइएन भने यसले मिर्गौलामा गम्भीर असर पुर्याउँछ, जसका कारण मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थासम्म आउन सक्ने चिकित्सकहरू बताउँछन्।
यो सर्पलाई देख्दा धेरै मानिसहरू अज्ञानतावश अजिंगर वा जुक्किनी सर्प ठान्छन्, तर यसबाट सजग रहनु अति आवश्यक छ।
यस्तो सर्प कतै देख्नुभयो भने तुरुन्तै सम्पर्क गर्न सर्प विशेषज्ञ वा सर्प उद्धारकर्ताको आग्रह छ। आफैँ समात्ने वा छुन खोज्ने काम नगर्न र घर वरिपरि सफा राखेर सुरक्षित दूरी कायम गर्न उनीहरूको सुझाव छ। रस्सेल्स भाइपर नेपालमा अत्यन्तै कम देखिने गर्छ। मुख्यतः तराईका तातो र सुख्खा क्षेत्रमा पाइने यो सर्प रुपन्देही (भैरहवा वरिपरि), कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भेटिएको छ।
नेपाल बाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड, र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ।
यो प्रायः धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा देखिने र साँझ र रातिको समयमा बढी सक्रिय हुने सर्प विशेषज्ञहरूको भनाइ छ।
प्रकाशित: २९ श्रावण २०८२ १२:५२ बिहीबार





