पर्यटकीय राजधानी पोखरामा आरयू फेस्ट सुरु भएको छ। रिसाइक्लिंग र अपसाइक्लिंग मार्फत उत्पादन भएका सामग्रीहरूको प्रदर्शनीसँगै उत्पादनको प्रत्यक्ष अवलोकन गराउने कार्यक्रम आरयू फेस्ट सुरु भएको हो। पोखरा-६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म आयोजना हुने फेस्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।
फेस्टमा फोहोरबाट उत्पादन भएका सामग्रीहरूको प्रदर्शनी गरिएको छ। जहाँ दर्जनभन्दा बढी कम्पनीहरूले आफूले फोहोरबाट उत्पादन भएका सामग्रीहरू प्रदर्शनीमा राखेका छन्। कसैले हिमालमा छाडिएका प्लास्टिकजन्य सामग्रीबाट उत्पादित गरेका सामग्री फेस्टमा प्रदर्शनीमा राखेका छन् भने कसैले बोतल, कागजजन्य पदार्थबाट बनाइएका सामग्रीहरू राखेका छन्। उसो त रिसाइक्लिंग मात्रै होइन, अपसाइक्लिंग अर्थात् प्रयोग गर्दा छाडिएका कपडालगायतबाट बनाइएका झोला, व्याग, थैलीलगायत पनि फेस्टलाई अवसरका रूपमा लिएर प्रदर्शनीमा राखेका छन्।
फेस्टमा फोहोरबाट कसरी सामान उत्पादन गरिन्छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। जहाँ फालिएका फोहोरलाई प्रशोधन मार्फत पुन: प्रयोगका लागि सामग्रीहरू निर्माण भइरहेको देख्न सकिन्छ। फेस्ट हुने स्थलमा फालिएका प्लास्टिकको बोतलबाट बनाइएको माछा राखिएको छ। जसमा सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ। फेस्टमा फोहोरलाई मोहरमा बदल्ने अवसर, फोहोरले जलवायुमा निम्त्याइरहेको संकटसँगै दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधिबारे प्यानल डिस्कसन हुँदैछन्।
सो अवसरमा सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा हुने परियोजनाका फोकल पर्सन नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिए। साथै फेस्टिभलमा रिसाइक्लिंग र अपसाइक्लिंग सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान गरिने उनले बताए।
फेस्टमा उद्योगी तथा कम्पनीका सञ्चालकहरूलाई बोलाएर उनीहरूलाई बिस्तारित उत्पादक जिम्मेवारी (ईपीआर) बारे जिम्मेवार बनाउनका लागि छलफल गरिने बताइएको छ। जस्तै कुनै कम्पनीले चकलेट, चुरोट, बिस्कुट, चाउचाउको खोल वा पेय पदार्थ उत्पादन गर्छ भने त्यसको प्रयोगपछि निस्कने फोहोरको व्यवस्थापन गर्नका लागि उनीहरूलाई जिम्मेवार बनाउने बारे फेस्टमा छलफल हुनेछ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले आरयू फेस्ट उद्यमी बन्ने अवसर भएको बताए। फोहोरलाई मोहरमा बदल्न सकिन्छ भन्ने उदाहरण पुष्टि भइसकेको छ, उनले भने, ‘फेस्ट मार्फत फोहोर अभिशाप होइन, यो त उद्यमी वा उद्योगी बन्ने अवसर हो भन्ने पुष्टि गरिनेछ।’ उनले दैनिक जीवनमा प्रयोगहीन सामग्रीहरू रिसाइक्लिंग र अपसाइक्लिंग गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आरयू फेस्ट आयोजना गरिएको बताए। उनले भने, ‘फेस्ट सिर्जनशील युवाको साझा मञ्च बन्नेछ। साथै यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिनेछ।’ फेस्ट सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्न कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे।
पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिंग र अपसाइक्लिंग मार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन भइरहेको छ। झन्डै एक अर्ब ४४ करोड ८७ लाखको लगानीमा फोहोर प्रशोधन मार्फत रिसाइक्लिंग र अपसाइक्लिंग अन्तर्गत जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ। यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि पोखरा महानगरलाई हस्तान्तरण गर्ने मेयर आचार्यले जानकारी दिए।
पोखराको प्रदर्शनी केन्द्रमा उत्पादित सामग्रीहरू प्रदर्शनीमा राखिएको छ भने पोखरा महानगरपालिकाका ३३ वटै वडाहरूमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरेर रिसाइक्लिंग र अपसाइक्लिंग मार्फत सामग्री निर्माण भइरहेको छ। यस परियोजनामा हालसम्म ३ हजार ३ सय जना आबद्ध भएको मेयर आचार्यले बताए। उनले भने, ‘उत्पादनमा सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर रोजगारी दिइएको छ।’ यस परियोजनाले हरित अर्थतन्त्रको विकासमा योगदान दिँदै रोजगारी सिर्जना गर्ने उनको भनाइ छ। दुई वर्षमा ३ हजारलाई स्थायी रोजगारी सिर्जना गर्ने महानगरको योजना रहेको उनले बताए।
प्रकाशित: १६ श्रावण २०८२ २०:३७ शुक्रबार





