नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद चर्किँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टी सभापति गगन थापाको नेतृत्वमा सुरु हुन लागेको महाधिवेशन प्रक्रिया बहिष्कार गर्न नेता तथा कार्यकर्ताहरूलाई औपचारिक अपिल गरेको छ।
देउवा पक्षीय १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति थापा पक्षले आगामी असोज ३ गतेदेखि सुरु गर्न लागेको वडा तहको अधिवेशनलाई तथाकथित र विधि-प्रक्रिया मिचिएको भन्दै त्यसमा सहभागी नहुन आग्रह गरेका हुन्।
संयोजक डा. कोइरालाले १४ औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले तय गरेको कार्यतालिका अनुसार नै पार्टी अघि बढ्ने दाबी गरे। उनले असोज १५ गतेदेखि वडा तह हुँदै सुरु हुने अधिवेशनमा सक्रिय सहभागिता जनाएर मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा अनुरोध गरेका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै डा. कोइरालाले वार्ता, संवाद र अदालतको फैसलाको प्रतीक्षा नगरी एकलौटी रूपमा महाधिवेशनको कार्यतालिका अघि बढाउनु कुनै पनि हालतमा उचित नहुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र संस्कारलाई कमजोर बनाउँछ। कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन।’
कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको साटो विभाजनलाई संस्थागत गर्न उद्यत देखिएको आरोपसमेत देउवा पक्षले लगाएको छ।
कांग्रेस संस्थापन पक्षका सभापति गगन थापाले असोज ३ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिसकेका बेला देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै अधिवेशनको घोषणा गरेपछि पार्टी विभाजन उन्मुख बनेको छ।
प्रकाशित: २९ भाद्र २०८३ १८:२७ सोमबार





