त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित फरेन्सिक विभागको दृश्य बुधबार कोरोना महामारीको बेलाजस्तै देखियो। शव व्यवस्थापनमा खटिएकाहरू कोरोना कालमा जस्तै मास्क तथा सुरक्षा कवचमा थिए। खटिएका सुरक्षाकर्मी, आफन्तको शव खोज्न आएकाहरू र एम्बुलेन्स चालकहरू मास्कमा देखिन्थे। विभागको हाता सडेका शवले दुर्गन्धित बनेको थियो। शव खोज्दै आएकाहरू दुर्गन्धका कारण धेरै बेर टिक्न सक्दैनथे। बाध्यताले काम गर्ने कर्मचारी, प्रहरी तथा चालकहरूलाई भने दुर्गन्ध सहनुको विकल्प थिएन।
एम्बुलेन्स चालक सीताराम वली बुधबार दिउँसो नुवाकोटबाट शव लिएर आइपुगे। उनको एम्बुलेन्स रोकिनेबित्तिकै दुर्गन्ध थप कडा बन्यो। उनले रसुवामा बाढी आएको भोलिपल्टदेखि नै एम्बुलेन्समा शव बोक्न थालेका हुन्। उनी बुधबार त्रिशूली ब्यारेकबाट सेनाले संकलन गरेर पठाएको शव बोकेर फरेन्सिक विभाग आइपुगेका हुन्। ‘बाढी आएको तीन दिनपछि शव गनाउन थालेको हो, अहिले त कडा दुर्गन्ध आइरहेको छ,’ उनले भने, ‘तर बाध्यताले शव नबोकी सुखै छैन, तेब्बर मास्क लगाएर बोक्छु।’ उनका अनुसार नुवाकोटमा संकलन गरिएका थप डेढ दर्जन शव ल्याउन बाँकी छ।
फरेन्सिक विभागको हातामा काठमाडौं जिल्लाले सञ्चालन गरेको संयुक्त एम्बुलेन्स चालक संघका ध्रुव लाकौर र हिमालयबहादुर राना पनि भेटिए। हिमालय राना नुवाकोटदेखि काठमाडौं हुँदै सबैतिर शव बोकिरहेका छन्।
उनीहरू पनि रसुवामा बाढी गएको भोलिपल्टदेखि नै शव बोक्न व्यस्त छन्। तीमध्ये ध्रुव र हिमालयबहादुर विभागदेखि आर्यघाट र शव व्यवस्थापन गरिएको जंगलसम्म शव बोकिरहेका छन्। उनीहरूले पनि सडेकै शव बोकिरहेको बताए। ‘के गर्नु, नबोकी सुखै छैन। अब बानी परिसक्यो,’ चालक ध्रुव लाकौरले भने।
संघमार्फत निःशुल्क सेवा दिइरहेको उनीहरूले सुनाए। शवको दुर्गन्धका भुक्तभोगी एम्बुलेन्स चालक मात्र नभई शवलाई विभागको हातामा व्यवस्थापन गर्ने, शवको तस्बिर खिच्ने र आफन्तलाई शव देखाइदिने कर्मचारी तथा शवको अभिलेख राख्न हाताभित्रै खटिएका र खोजपडतालमा सहयोग गर्ने प्रहरी कर्मचारी पनि उत्तिकै प्रभावित देखिए। सोही हातामा काम गरिरहेका प्रहरी हेडक्वार्टरका डिआइजीसहित अन्य प्रहरी कर्मचारी शवको दुर्गन्धमा मास्क लगाएर काम गरिरहेका भेटिए।
पछिल्ला दिनमा फेला परेका शवहरू अत्यन्त सडेका कारण चिन्नै नसकिने अवस्थामा रहेको शव व्यवस्थापनका संयोजक तथा प्रहरी केन्द्रीय कार्यालयका डिआइजी ओमबहादुर रानाले बताए। उनका अनुसार पहिचान हुन सकेका शव आफन्तले बुझेका छन् भने पहिचान हुन नसकेका शव काठमाडौंस्थित गोकर्ण जंगलमा गाडिएका छन्।
धेरैजसो शव पहिचान हुने स्थितिमै छैनन्। पछिल्लो पटक फेला परेका शव पुरै सडिसकेको डिआइजी राना बताउँछन्। रानाका अनुसार बुधबारसम्म शिक्षण अस्पतालमा विभिन्न जिल्लाबाट संकलन भएका १६५ मध्ये १५ शव आफन्तले सनाखत गरी बुझेका छन्। ८५ वटा शव भने गोकर्ण जंगलमा माटोमुनि राखिएको राना बताउँछन्। शरीरमा ट्याटु भएका, कानमा कोठी भएका र शरीरमा रहेका अन्य चिह्नका आधारमा पहिचान भएका शव मात्र आफन्तले बुझेका हुन्।
‘सडेर हातखुट्टाको मासु झरेका र कुहिएका छन्,’ उनले भने। गन्ध व्यवस्थापनका लागि स्प्रे र फिनेल छर्किए पनि दुर्गन्ध हटेको छैन। डिआइजी रानाका अनुसार शव व्यवस्थापनका लागि २० जना कर्मचारी शव मिलाउने काममा मात्र खटिएका छन्।
उनका अनुसार गाड्नुअघि डिएनए परीक्षणका लागि प्रत्येक शवको नमुना राखिन्छ। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरी शव पुरै गलिसकेको अवस्थामा पहिचान गर्न कठिन हुने भएकाले अबको व्यवस्थापन डिएनए परीक्षणका आधारमा मात्र हुने बताउँछन्।
गलेको शवमा दुर्गन्ध हटाउने रासायनिक औषधि प्रयोग गर्दा शव व्यवस्थापनमा खटिएका कर्मचारीमा गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने जोखिम भएकाले कुनै रसायन प्रयोग नगरी शव राखिएको उनले बताए। ‘दुर्गन्धले एकछिन एलर्जी भए पनि रसायनले फोक्सोमा गम्भीर खालको रोग लाग्छ,’ उनले भने।
यस्ता कुहिएका शव जमिनमुनि गाडेर राख्दा नै सुरक्षित हुने उनी बताउँछन्। थप शव भेटिने क्रम जारी रहेकाले अब भेटिने शव थप सडेका हुने र त्यसको एक मात्र व्यवस्थापन भनेको शवको हड्डीको टुक्रा राखेर डिएनए म्याच गरी पहिचान गर्नु मात्र उपाय रहेको उनले बताए।
सबै शवमा नमुनासहित ट्याग राखिएकाले महिनौंपछि पनि डिएनए म्याचिङका आधारमा पहिचान गर्न सकिने उनको भनाइ छ तर म्याचिङ प्रक्रिया महिनौं लाग्ने उनले बताए। प्रहरीको तथ्यांकअनुसार देशभरमा चार हजार ८८५ जना बेपत्ता भएकामध्ये एक हजार ११८ वटा शव फेला परेका छन्। तीमध्ये ९५ वटा शव हस्तान्तरण भएका छन्।
बेपत्ता आफन्तको खोजीमा थाक्न थाले आफन्त
शव खोज्न आएका कैयौं आफन्त दुर्गन्धले फरेन्सिक विभागभित्र जानै सकेनन्। रसुवा बाढीमा बेपत्ता परिवारका ६ जना आफन्त खोज्न आएकी प्रकृति गुरुङसहित अन्य चार जना विभागबाहिरै भेटिए। आफूहरू भित्र पस्न नसकेर अरूलाई पठाएको उनीहरूले बताए।
गुरुङका पिता नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरमा पसल राखेर जीविका चलाउँथे। उनका ठुलो बुवा, ठुली आमा, आमा, भाउजू र एक भदासहित ६ जना आफन्त बाढीमा परी बेपत्ता भएका छन्।
बेपत्तामध्ये उनका पिताको शव भदौ ११ गते नै त्रिशूलीमा देखिए पनि सेनाले तस्बिर खिच्न नदिएको उनीहरूको गुनासो छ। छोरी आएपछि अन्त्येष्टि गर्ने उद्देश्य राखेर बिचमा खोज्न आउँदा विभागले पहिलो चरणमा गाडिसकेको जानकारी दिएपछि थप अप्ठेरोमा परेको गुरुङले बताइन्। ‘भेटेको बुवाको शव पनि न यता छ न उता। अब के गर्ने ?’ उनले भनिन्।
सोही विभागको हाताबाहिरको भित्ताका तस्बिरहरू नियालिरहेकी काभ्रेकी गीता रिजाल बेपत्ता पति राजकुमार रिजालको शव खोजीका लागि आएकी हुन्। पति कतै नभेटिएपछि बुधबार डिएनए परीक्षणका लागि आफन्तसहित शिक्षण अस्पताल आइपुगेको उनले बताइन्। पति राजकुमारको खोजीका लागि उनी चितवन, नवलपरासी पूर्व, नुवाकोट सबैतिर पुगेर थाकेपछि शव खोज्न फरेन्सिक विभागमा भेटिन सक्ने भन्दै आएकी हुन्। राजकुमार भदौ १० गते काठमाडौंबाट पर्यटक बोकेर रसुवातर्फ गएका थिए।
बाढीमा बेपत्ता भएका दाइ खोज्न बुधबार शिक्षण अस्पताल आएकी सिन्धुपाल्चोककी लक्ष्मी तामाङ अलमलमा देखिइन्। एक साता बितिसक्दा पनि दाइ नभेटिएपछि पाइन्छ कि भन्ने झिनो आशा बोकेर शिक्षण अस्पताल आएको उनले बताइन्। ‘चितवन, नुवाकोट, रसुवा गएर दाइहरूले खोजिसक्नुभएको छ तर कतै उपचारमा हुनुहुन्छ कि भन्ने आशाले आएकी हुँ,’ उनले भनिन्।
बुधबार नै अस्पतालमा जुम्लाबाट १० जनाको टोली तीन दिन हिँडेर काठमाडौं आएको थियो। कृष्णभिरको पहिरोका कारण थप घुमाउरो बाटो आउनुपरेको जुम्लाका चन्द्र विष्ट र राजबहादुर बुढाले बताए। जुम्लाको एउटै क्षेत्रका ३२ जना रसुवा बाढीमा बेपत्ता भएपछि जुटेर खोज्न आएको उनीहरूले बताए। ‘सास या लास जे भए पनि भेटिन्छ कि भनेर आयौं,’ विष्टले भने।
सर्लाही हरिपुरकी शिवानी मिरवाहा पनि टिचिङमै पुगेकी छन्। अस्पतालमा अन्तिम खोजीका लागि हिँडेका थुप्रै आफन्त भेटिए। अस्पतालमा नयाँ घाइते आउन छाडेपछि वार्डमा पुराना घाइते उपचाररत छन्। सात दिन बितिसक्दा पनि आफन्त नभेटिएपछि उनीहरू निराश हुँदै हिँडेको भेटिए।
प्रकाशित: १८ भाद्र २०८३ ०६:३४ बिहीबार





