१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

त्रिशूली–३ ‘ए’ को सुरुङ प्रवेश क्षेत्रमा २० हजार घनमिटर लेदो तथा भग्नावशेष हटाइयो

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको प्रवेशद्वार क्षेत्रमा उद्धार तथा सरसफाइको काम तीव्र रूपमा अघि बढाइएको छ।

आयोजनामा खटिएका प्राविधिक इञ्जिनियर श्रीराम न्यौपानेका अनुसार हालसम्म १६० मिटर लामो सुरुङको मुखको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइएको हो।

भदौ १३ गतेदेखि नियमित रूपमा दुईवटा एक्स्काभेटर परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको न्यौपानेले जानकारी दिएका छन्। आवश्यकताअनुसार ब्रेकर प्रयोग गर्ने तथा नियन्त्रित रूपमा विस्फोटक पदार्थ प्रयोग गरी ठूला ढुंगा फुटाउने काम चौबीसै घण्टा भइरहेको छ।

हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरिएको छ। ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब ३ मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने उनले जानकारी दिए।

प्रारम्भिक अवलोकनमा सुरुङको आँखाले देखिने करिब एक मिटरसम्मको भाग पूरै लेदोले भरिएको देखिएको छ। यद्यपि सुरुङबाट हाल प्रति सेकेन्ड करिब २ लिटरका दरले बिना दबाब पानी बाहिर निस्किरहेको र सुरुङभित्र पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत देखिएको न्यौपानेले बताएका छन्।

पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा र ठूला बोल्डरले अवरोध गरेको पाइएको छ। यस आधारमा सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यद्यपि सुरुङभित्रको वास्तविक अवस्था अझै यकिन भइसकेको छैन। १६० मिटर लामो सुरुङमध्ये करिब ६० मिटरमा बेन्ड रहेको तथा पावरहाउसतर्फ उकालो ग्रेडियन्ट भएकाले सुरुङको भित्री भाग सुरक्षित र सामान्य अवस्थामा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलसम्म सडक पहुँच नभई हेलिकप्टरबाट मात्र पुग्न सकिने भएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री ढुवानीमा केही समय लाग्ने अवस्था रहेको छ। त्यसका बाबजुद पनि उद्धार तथा सफाइसँग सम्बन्धित सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको इञ्जिनियर न्यौपानेले बताए।

प्रकाशित: १८ भाद्र २०८३ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App