२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ अझै बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको बताएका हुन्।

मृत्यु हुनेहरुमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन्।

रोल्पाको सुलिचौर नजिक लाम्पा खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा थप पाँच जनाको शव फेला परेको थियो। तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान भएको छ।

त्यसैगरी तीन जना बेपत्ता रहेका छन् भने गम्भीर घाइते भएका थबाङ गाउँपालिका-५ कै बर्ष २२ का हिमाल पुन मगर र वर्ष २५ का संजय घर्ती मगरलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको रोल्पा प्रहरीले जनाएको छ।

रोल्पा प्रहरीका अनुसार पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च गरी १३ वटा संरचना पुरेको थियो।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार खोजी कार्य जारी राखेको बताए।

घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी र स्थानीयले राती देखि उद्धार सुरु गरेका थिए। सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखु, नेपाली सेनाका कर्णेल दीपेश खड्का, सशस्त्र डिएसपी कालीप्रसाद चौधरी सहितको उद्धार टोली घटनास्थल पुगेका थिए।

बिहीबार दिउँसो घटनास्थलमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भूपेन्द्रबहादुर खत्रीसहित स्वास्थ्यकर्मीको टोली पुगेको थियो।

प्रकाशित: २८ श्रावण २०८३ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App