रोल्पामा बुधबार साँझ परेको भीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। पहिरोमा परी १० जना बेपत्ता छन्।
रोल्पा प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा रातिकरिब ९ बजेतिर घरमाथिबाट पहिरो झरेको थियो।
स्थानीयका अनुसार त्यहाँ करिब आधा दर्जन घरगोठ पुरिएका छन्। पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ बोटलबाराका वर्ष ६० का कमलबहादुर पुन मगर र वर्ष १८ की शान्ती पुन मगर रहेका छन्। भने २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्।
घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको जनाइएको छ। प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर छ। अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै स्थानिय र प्रहरीले थप खोजिकार्य गर्दैछ।
सदरमुकामबाट २८ कोष टाटाको यो ठाउँमा थप उद्धारका लागि सदमुकामबाट प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखु, नेपाली सेनाका कर्णेलदिपेश खड्का, सशस्त्र डिएसपी कालिप्रशाद चौधरीसहितको टोलीलगायत घटनास्थल लागेका छन्।
घटनास्थल नजिकै पुगेका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारीले सदरमुकामबाट हिडेको सेना, प्रहरी र सशस्त्र प्रहरीको थप उद्धार टोली पनि केहीबेरमा घटनास्थल पुग्ने बताए। ‘ठुलो पहिरो आएको छ। २ जनाको मृत्यु, २ जना घाइते र १० जना बेपत्ता रहेको अहिले सम्मको अवस्था हो। घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा स्वास्थ्यकर्मीसहित प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको छ।’
प्रकाशित: २८ श्रावण २०८३ ०७:५३ बिहीबार





