खोटाङको साकेला गाउँपालिकामा अवरुद्ध सडक दुई दिनसम्म लगातार मर्मतपछि सुचारु भएको छ। चार दिनअघि पहिरो खसेर यातायात आउजाउ रोकिएको सडकमा गाउँपालिकाको स्काभेटर र स्थानीयवासीको श्रमदानबाट मर्मत गरी सुचारु भएको हो।
पहिरोले खसालेको ठूलठूला ढुङ्गा स्काभेट र स्थानीयको प्रयासले हटाउन सफल भएपछि सडक सुचारु भएको हो। आइतबार रातिदेखि सुरु भएको अविरुल वर्षापछि सोमबार राति माथिबाट खसेको पहिरोले सडक अवरुद्ध हुन पुगेको थियो। पहिरोले साकेलाको बाँझेच्यानडाँडादेखि रतन्छा हुँदै गाउँ मुकाम मानेभन्ज्याङ आउने यातायात र पैदल यात्रा दुवै रोकिएको थियो।
साकेला १ को बाँझेच्यानडाँडास्थित लगनेडाँडामा अवरुद्ध भएको सडक मर्मत गर्न स्थानीयवासी श्रमदानमा खटेका थिए। उनीहरूसँगै गाउँपालिकाको स्काभेटर प्रयोगमार्फत पहिरो पन्छाउन सफल भएपछि बिहीबार विहानदेखि सो रुटमा यातायात सुचारु भएकोहो।
मङ्गलबार र बुधबार १ नं. का स्थानीय र जनप्रतिनिधिको श्रमदानमा गाउँपालिकाको जेसिवी स्काभेटरसहित लगातार दुई दिनसम्म खट्दा सडक सुचारु गर्न सफल भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए। उनका अनुसार सो सडक साकेला गाउँपालिकाको गौरवको आयोजनामध्ये एउटा हो।
खोटाङलाई पूर्वबाट पश्चिमसम्म पूरै चिरेको पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोड्दै सदरमुकाम दिक्तेल हुँदै प्रदेशका विभिन्न जिल्ला पुग्ने सो सडक अवरुद्ध हुँदा साकेलाका विभिन्न वडासहित छिमेकी स्थानीय तहका बासिन्दालाई पनि समस्या पर्ने गरेको अध्यक्ष राईले बताए। गाउँमुकाम मानेभन्ज्याङबाट १७ किलोमिटर दूरीको अति महत्वपूर्ण भएकाले त्यसलाई गौरवको सडक बनाइएको उनले बताए।
गाउँपालिकाले सो सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी निरन्तर काम गर्दै आएको छ। चालु वर्ष पनि सडक स्तरोन्नतिको लागि आवश्यक बजेट व्यवस्था गरेर गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ।
अध्यक्ष राईले सडक मात्र नभई प्राकृतिक विपत्तिका कारण हुने कुनै पनि क्षति न्यूनीकरण गर्दै नागरिकलाई सहजता दिलाउन आकस्मिक पूर्वाधार सेवामार्फत विभिन्न ठाउँका सडक तथा पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइँदै आएको बताए। साउन १० गते मात्र सोही सडक खण्डको रुपुवा खोलामा गएको पहिराले ग्यावियन जाली बगाएर अवरुद्ध भएको थियो।
त्यस बेला पनि गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सामूहिक प्रयासमा मर्मत गरि सुचारु गरिएको थियो। त्यसबेला पहिरोले ५० लाख बढीको ग्यावियन जाली बगाएको सो सडकमा गाउँपालिका, प्रदेश तथा सङ्घीय सरकारको करोडौं बजेट लगानी भइसकेको छ।
चालु आर्थिक वर्ष ०८२/८३ सङ्घीय समपूरक योजनाअन्तर्गत बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ। समपूरक योजना अन्तर्गत स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा सङ्घीय सरकारले बहुवर्षीय योजनामा राखि निर्माणाधीन यस सडकका लागि चालु वर्ष ६ करोड २३ लाखको काम हुने अध्यक्ष राईले बताएका छन्।
१ अर्ब १४ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको सो सडक अहिलेसम्म ग्राबेल मात्र भईरहेको छ। पर्याप्त बजेट पाएको खण्डमा १७ किलोमिटर लम्बाइको सो सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सके मध्ये पहाडी लोकमार्गसँग साकेलावासीको पहुँच पुग्ने राईले बताए।
प्रकाशित: २२ श्रावण २०८२ १३:०१ बिहीबार





