९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

‘बिटुमिन’ अभावले सडक कालोपत्र ठप्प

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्वागाडेसम्मको झण्डै १३ किलोमिटर सडक कालोपत्रको काम २०७९ साउनबाट सुरु भएको थियो । २०८१ असार १४ गतेभित्र सम्पन्न भइसक्नुपर्ने यो सडक खण्ड ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य सुस्त भयो ।  

चालू आर्थिक वर्षभित्र कालोपत्रे गर्ने गरेर निर्माण कम्पनी अनक जयदेवी जेभीले तिब्रगतिमा काम गरिरहेका बेला बिटुमिन (कालोपत्रमा प्रयोग हुने पेट्रोलियम पदार्थबाट बन्ने सामाग्री) अभाव हुँदा चालू आर्थिक वर्षभित्र यो १३ किलोमिटर सडक कालोपत्र नहुने अवस्था देखिन्छ ।

कर्णाली प्रदेश सरकारका अनुसार चालू आर्थिक वर्षका कर्णालीमा १६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । तर, कालोपत्र गर्ने सिजनमै बिटुमिन नपाएर काम ठप्प बनेपछि चालु आर्थिक वर्षमा कालोपत्र गर्ने प्रदेश सरकारको लक्ष्य पनि पूरा नहुने भएकोम छ ।  

‘चालु आर्थिक वर्षमा कर्णालीमा १६१ किलोमिटर कालोपत्र गर्ने लक्ष्य थियो,’ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले भने, ‘बिटुमिन अभावमा प्रदेश सरकारको लक्ष्यमा गम्भीर धक्का लागेको छ ।’ बिटुमिन अभाव देखाउँदै निर्माण व्यवसायीहरुले प्रदेशभरको कालोपत्रको काम रोकेका छन् ।

प्रदेश सरकारका अनुसार चैत मसान्तसम्म कर्णालीमा ५३.२६ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । सुर्खेतमा चालु आर्थिक वर्षमा ५९.७ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएपनि २०.२८ किलोमिटर मात्रै कालोपत्र भएको छ । यस्तै दैलेखमा १० किलोमिटर कालोपत्र हुनुपर्नेमा छ किलोमिटर मात्रै भएको छ ।

सल्यानमा १५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य भएपनि चैत मसान्तसम्म साढे छ किलोमिटर सडक कालोपत्र भएको छ । रुकुम पश्चिममा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य भएपनि हालसम्म १.२० किलोमिटर मात्रै कालोपत्र भएको छ ।  

यस्तै पहाडी र हिमाली जिल्लाहरुको अवस्था पनि त्यस्तै छ । जाजरकोटमा चालु आर्थिकमा तीन किलोमिटर सडक कालोपत्र हुनुपर्नेमा १.२० किलोमिटर मात्रै भएको छ भने डोल्पामा दुई किलोमिटर कालोपत्रको लक्ष्य राखिएकोमा त्यहाँ एक सय ३० मिटर मात्रै कालोपत्र भएको छ ।  

यस्तै जुम्लामा साढे दुई किलोमिटर कालोपत्र हुनुपर्नेमा आठ सय ५० मिटर भएको छ भने मुगुमा चार किलोमिटर कालोपत्रे हुनुपर्नेमा ६०० मिटर मात्रै भएको छ । कालिकोटमा चालु आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र हुनुपर्नेमा यहाँ शून्य प्रगति छ भने हुम्लामा पनि हालसम्म शून्य मिटर कालोपत्रे भएको छ । यस्तै ग्रामिण सडक सुधार परियोजना अन्तर्गत हुनुपर्ने ३९ किलोमिटर सडक मध्ये १६.५० किलोमिटर मात्रै कालोपत्र भएको छ ।

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बमले सडक कालोपत्रका लागि प्रयोग हुने बिटुमिनको अभाव हुँदा कर्णाली प्रदेशभरी सडक कालोपत्रको काम ठप्प भएको बताए । ‘पुँजीगत खर्च हुने बेला बिटुमिन पाउन छोड्यो,’ उनले भने, ‘कर्णालीमा अहिले सडक कालोपत्रको काम ठप्प छ ।’

निर्णाण व्यवसायीका अनुसार फागुनको मध्यसमम बिटुमिनको बजार मूल्य प्रतिकेजी ९० रुपैयाँ थियो । अहिले पाइहालेमा २५० रुपैयाँ पर्छ । ‘यति महंगोमा ल्याएर कालोपत्र गर्न सम्भव पनि भएन्,’ उनले भने । उनले फागुनदेखि जेठ मसान्तसम्म पुँजीगत बजेट खर्च हुने बेला बिटुमिन नपाइनु तथा अरु पेट्रोलियम पदार्थको पनि अभाव हुँदा सडक कालोपत्रसँगै अन्य निर्माणका काम पनि रोकिएको बताए ।

प्रकाशित: १७ वैशाख २०८३ १९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App