अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकोमा चार वर्ष अघि स्वास्थ्य सामाग्री खरिद गरिएको सन्दर्भमा अनियमितता भएको भन्ने उजुरीको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
एमआरआइ मेसिन, ट्रान्सफरमर, सीटी स्क्यान र अक्सिजन प्लाण्टको खरिदमा अनियमितता भएको उजुरीलाई फर्स्योट गर्ने क्रममा अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको हो । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७८ सालको विभिन्न महिनामा गरिएको स्वास्थ्य सामाग्री खरिदको विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको छ’, अख्तियार स्रोतले भन्यो ।
तत्कालीन उपकुलपति (भिसी) रहेकी संगीता भण्डारीको समयमा भएको सो खरिद प्रक्रियाबारे विवाद उत्पन्न भएको थियो । त्यस विषयमा अख्तियारमा उजुरी समेत परेको थियो । सो उजुरीको विषयमा छानबिनका लागि डा। भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक बयान पनि लिइसकेको छ । उनको बयानपछि मुद्दा दर्ताको अन्तिम चरणमा पुर्याएको छ ।
अख्तियार स्रोतका अनुसार संगिता जोडिएका झन्डै आधा दर्जन ‘केस’ अख्तियारको विस्तृत अनुसन्धानमा रहेका छन्। राप्तीको भिसी हुँदा उनले गरेका हरेक ठेक्का सम्झौतामा अनियमितता भएको भन्दै उजुरी परेका थिए । स्रोतका अनुसार उनको कार्यकाल सकिने अन्तिमतिर लगाइएको ठेक्कामा अनुसन्धान भएको हो । कार्यकाल सकिने अन्त्यतिर एमआरआई मेसिन खरिदमा अनियमितता भएको उजुरी छ । लुम्बिनी हेल्थ केयर प्रालिलाई मात्रै मिल्ने गरी स्पेसिफिकेसन बनाएर २०७८ असारमा ११ करोडमा ठेक्का लगाइएको उजुरी रहेको थियो ।
सार्वजनिक खरिद ऐनअनुसार पाँच करोडभन्दा बढीको सामान खरिदमा अन्तर्राष्ट्रिय टेन्डर खोल्नुपर्ने नियमलाई वेवासथा गरिएको आरोप उनीमाथि छ । भण्डारीले प्रतिष्ठानका लागि १५ सय भोल्टको ट्रान्सफर्मर खरिद गर्दा पनि कम मूल्यमा खरिद गर्न चाहने कम्पनीलाई पन्छाएर घोटाला गरेको भन्दै उजुरी परेको थियो । उजुरी अनुसार राज्यलाई ३७ लाख ८५ हजार दुई सय ३९ रुपैयाँ अनावश्यक भार परेको देखाइएको छ । अख्तियारले यो विषयमा पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
उजुरी अनुसार २४ वैशाख ०७८ मा गोरखापत्रमा सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत केबी इलेक्स प्रालि जनकपुरले माग भएअनुसारको सम्पूर्ण स्पेसिफिकेसनअनुसार टेन्डर हालेको थियो ।
एक करोड ५६ लाख ८३ हजार पाँच सय सात रुपैयाँमा मूल्य अभिवृद्धि करबाहेक टेन्डर हालेको थियो । अर्को प्रतिस्पर्धी कम्पनी लक्ष्मी बिजुली भण्डार एन्ड जेनेरल अर्डर सप्लायर्स नेपालगन्जले मूल्य अभिवृद्धि कर ९भ्याट०बाहेक एक करोड ९४ लाख ६८ हजार सात सय ४७ रुपैयाँ उपलब्ध गराउने गरी टेन्डर हालेको थियो । सेटिङमा कम मूल्य हाल्ने केबीलाई हटाएर करिब ३८ लाखभन्दा बढी हाल्ने लक्ष्मी सप्लायर्सलाई ठेक्का लगाइएको उजुरीमा उल्लेख छ । त्यसैगरी अक्सिजन जेनेरेटर खरिदको विषयमा पनि उजुरी परेको थियो ।
राजेन्द्र महतो स्वास्थ्यमन्त्री भएका बेला संगीता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी बनेकी थिइन् । संगीता पाटनको भिसी हुँदा विवादमा परेर ४ महिनामै बर्खास्त भएकी थिइन् । प्रतिष्ठानका तत्कालीन कुलपति प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको सिनेट बैठकले विवादित भिसी संगीतालाई बर्खास्त गरेको थियो । सो निर्णय गर्दा स्वास्थ्यमन्त्री महतो भने बैठकमा उपस्थित भएका थिएनन् । उनी भिसी भएको महिना दिन नपुग्दै पाटनमा आन्दोलन भएको थियो । चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी एकसाथ आन्दोलनमा उत्रिएका थिए । ३ महिना आन्दोलनसम्म चलेपछि संगीतालाई भिसीबाट बर्खास्त गरिएको थियो । त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लयमा फर्किएको थियो ।
पाटनको भिसीबाट बर्खास्त भएकी संगीता राप्रपाका दिपक बोहरा स्वास्थ्यमन्त्री हुँदा फेरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी भएकी थिइन । राप्तीमा हुँदा गरेका अनियमितताको उजुरी अख्तियारमा चाङ लागेको थियो । अक्सिजन प्लान्ट खरिदमा राज्यलाई घाटा पुग्नेगरी काम गरेको विषयमा अख्तियारले कोहलपुर शाखाबाट बयान लिएको थियो । संगीता राप्तीको उपकुलपति हुँदा राज्यकोष दुरुपयोग गरेर अनावश्यक रूपमा ललितपुरमा मासिक लाखौँ भाडा तिरेर सम्पर्क कार्यालय खोलिएको आरोप पनि गाइएको छ ।
प्रकाशित: १२ श्रावण २०८२ १३:३८ सोमबार





