अति सङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही) नारायणी नदीबाट उद्धार गरिएको छ। मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीस्थित अमलटारीघाटमा रहेको नारायणी नदीमा फेला परेको घडियाललाई स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार लगातार चार दिनको प्रयासपछि बुधबार दिउँसो गोहीको मुखबाट तियारी जाल हटाउन सफल भएको हो। स्थानीय गोपाल बोटेको सक्रियतामा निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाको सहयोगमा चार दिनपछि भाले गोहीको उद्धार गरिएको बताइएको छ। गोहीको मुखमा बेरिएको जाल काटेर नदीमा छाडिएको जनाइएको छ।
माछा मार्ने क्रममा नदीमा छोडिएको जाल गोहीको मुखमा बेरिएको हुन सक्ने थापा मगरले बताएका छन्। उद्धार गरिएको गोहीको स्वास्थ्य अवस्था राम्रो रहेको र उद्धारमा संलग्न बोटे समुदायप्रति धन्यवाद व्यक्त गरिएको छ। बुधबार उद्धार गरी नारायणी नदीमा छोडिएको गोही वयस्क भाले घडियाल रहेको जानकारी दिइएको छ।
यससँगै यस वर्ष नारायणी नदीबाट चार वटा घडियाल गोहीको उद्धार गरिएको छ। अघिल्लो महिना गरिएको स्थलगत घडियाल गणनाका क्रममा नारायणी नदीमा दुई तथा राप्ती नदीमा सात वटा गरी यस क्षेत्रमा नौ वटा भाले घडियाल गोही फेला परेका थिए।
त्यसैगरी नारायणी नदीमा १३५ र राप्ती नदीमा २३१ गरी निकुञ्ज क्षेत्रमा जम्मा ३६६ वटा वयस्क घडियाल गोहीको गणना गरिएको छ। प्राकृतिक वातावरणमा घडियालको सङ्ख्या वृद्धि गर्न निकुञ्जले प्रजनन केन्द्रमा हुर्काइएका बच्चा गोही नदीमा छोड्दै आएको छ।
अति सङ्कटापन्न अवस्थाका घडियालसहितका वन्यजन्तु संरक्षणका लागि निकुञ्जले स्थानीय समुदायसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संरक्षणमा स्थानीयलाई सचेत र सहभागी गराउँदा सकारात्मक प्रतिफल देखिएको र समुदायको सहभागिताले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत टेवा पुग्दै आएको उल्लेख गरिएको छ।
यसैबीच, विश्व सिमसार दिवसको अवसर पारेर सोमबार निकुञ्जले स्थानीय बोटे समुदायको सहभागितामा राप्ती नदीमा घडियाल गोही छोडेको थियो।
प्रकाशित: २२ माघ २०८२ १६:२७ बिहीबार





