६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

विपदमा परिचालित हुन आग्रह

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले सम्भावित बाढीपहिरोको जोखिम आइहाले आवश्यक उपकरण र जनशक्तिसहित तुरुन्त परिचालित हुन सरोकारवाला पक्षलाई सजग गराएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले सम्भावित मनसुनजन्य विपदमा सर्तकर्ता तथा पूर्व तयारीका क्रममा सरोकारवाला समक्ष ७ बुँदे निर्देशन र सुझाव अघि सारेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले अत्यन्त जरुरी अवस्थाबाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न तथा वर्षा र बाटोको अवस्था हेरेर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ।

पहिरोको जोखिममा रहेका तथा नदीकिनारका बस्तीमा उच्च सर्तकर्ता अपनाउन, त्यस्तो जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक पर्नासाथ सोही सुरक्षित स्थानमा सर्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ।

विपद् व्यवस्थापन समितिले विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित तुरुन्त परिचालित हुन जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा, नेपाल रेडक्रस सोसाइटी सहितका सामाजिक संघसंस्थालाई निर्देशन दिएको छ।

मौसमविद्हरूले असोज २० गतेसम्म भारी वर्षाको सम्भावना औंल्याएपछि वर्षापछि उत्पन्न हुने सम्भावित विपदविरुद्ध जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत सजग गराएको छ। स्थानीय तहका प्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा स्थानीय तह विपद् व्यवस्थापन समिति रहेको हुन्छ।

प्रकाशित: १७ आश्विन २०८२ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App