मोरङ प्रशासनले यस वर्षको होली पर्व घरभित्रै सीमित रहेर मनाउन आग्रह गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मौन अवधि र होली पर्वसँगै परेपछि प्रशासनले सार्वजनिक स्थलमा तामझामका साथ पर्व मनाउन रोक लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचनको संवेदनशीलता र आचारसंहितालाई मध्यनजर गर्दै घरभित्रै परिवारजनसँग मात्र सभ्य रूपमा होली मनाउन अनुरोध गरे।
प्रशासनले जारी गरेको सूचनामा घर बाहिर सार्वजनिक स्थलहरूमा भेला भएर होली नमनाउन निर्देशन दिइएको छ।
प्रशासनले भनेको छ, ‘अर्केस्ट्रा, डीजे र ठुलो आवाजमा बाजागाजा नबजाउनुहुन तथा कुनै पनि किसिमको सामूहिक भोजभतेर, सांस्कृतिक कार्यक्रम वा प्रतियोगिताहरू आयोजना नगर्न/नगराउनुहुन अनुरोध गरिन्छ।’
निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य वा सार्वजनिक स्थानमा होहल्ला गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
होलीसँगै प्रशासनले अन्य गतिविधिमा पनि कडाइ गरेको छ। यो वर्ष रमजान पर्व पनि परेकाले उक्त पर्वसमेत घरमै मनाउन र सामूहिक भोजभतेर लगायतका कार्यक्रम आयोजना नगर्न मोरङ प्रशासनले आग्रह गरेको छ।
यस्तै, विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यहरूमा पनि पटका पड्काउने, आतीशबाजी गर्ने जस्ता गतिविधिमा पूर्ण रोक लगाइएको छ। यस्ता विस्फोटक पदार्थको प्रयोग र बिक्री वितरण गरेको पाइएमा कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले स्पष्ट पारेको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ १९:११ सोमबार





