१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

मौसम सुधार नहुँदासम्म धान नकाट्न अनुरोध

धान भित्र्याउन नपाउँदा कृषक चिन्तित

फाइल तस्बिर

खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन्।

दसैं तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो। म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने समय भएको छ।

खेतबारीमा रहेको धान कोदो वर्षासँगै हावाहुरीले लडाउँदा उत्पादनमा असर पर्नुका साथै भित्र्याउनका लागि काटेर सुकाएको बाली र नल पराल पानीले भिजेपछि चिन्तित भएको मंगला गाउँपालिका–२ रणवाङका कृषक लच्छिनबहादुर मल्लले जानकारी दिए।

मंगला गाउँपालिका–२ सिमका कृषक ध्रुव खत्रीले वर्षातका कारण खेतमा पाकेको धान काट्न नपाएको बताए। गत वर्ष १०० मुरी धान फलाएका खत्री यसपालि उत्पादन घट्ने बताउँछन्। कतिपय कृषकले काटेको धान खेतमै पानीले भिजेको छ। पानीले खेतमै धान र पराल कुहिने चिन्ता कृषकलाई छ।

रोप्ने समयमा पर्याप्त वर्षा भएको, रोग, किरा नदेखिएको र तिहार अघिसम्मको मौसम अनुकूल हुँदा धानको उत्पादन बढ्ने कृषकको अपेक्षा थियो। माथिल्लो क्षेत्रका कृषकले स्थानीय जातको धान दसैँ र तिहारबिचमा भित्र्याएका थिए।

बेसीका खेतमा तिहार लगत्तै धान काट्न थालेका थिए। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार गत वर्ष भएकोमा १२ हजार ९७८ दशमलव पाँच मेट्रिक्टन उत्पादन भएको थियो। ४६ हजार ५९१ मेट्रिक्टन उत्पादन भएको थियो।

जिल्लामा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकारे, भट्टे  र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गर्दछ। लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती गर्छन्। एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुगेँ, पुलाचौर, सिंगा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ।

यी क्षेत्र धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन्। धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बोटमै भएको धानलाई वर्षाले असर नगर्ने बताए।

‘धान काटिसकेको हो भने कुन्यु बनाएर भिज्नबाट बचाउनुपर्छ,’ उनले भने, ‘खेतमै परालसितै भएको धानलाई वर्षा सकिएपछि राम्रोसँग घाममा सुकाएर मात्रै भित्र्याउनुपर्छ।’ धान काट्ने योजनालाई मौसम सुधार नहुँदासम्म स्थगित गर्न केन्द्र प्रमुख बास्तोलाले कृषकलाई अनुरोध समेत गरेका छन्। रासस

प्रकाशित: १५ कार्तिक २०८२ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App