कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण गरिएको छ।
बोधिसत्व बिहार काठमाडौं र कान्छीमाया फाउन्डेशन काठमाडौंको सहयोगमा वडा कार्यालयको सिफारिसमा सामग्री वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत वडामा सूचीकृत २ सय ४२ ज्येष्ठ नागरिकलाई छाता, झुल, हरलिक्स र छडी प्रदान गरिएको छ।
त्यस्तै, १ सय ७० एकल महिलालाई २५ किलो चामल, दाल, तेल, मसला, सोयाबिनलगायत खाद्यान्न सामग्री वितरण गरिएको छ। वडाभित्रका तीन विद्यालयका ४ सयभन्दा बढी विद्यार्थीलाई झोला र कापी उपलब्ध गराइएको छ।

बोधिसत्व बिहारका मुख्य गुरु बही वाङसीसहितको टोलीले सामग्री हस्तान्तरण गरेको थियो। कार्यक्रममा उनले लुम्बिनी विश्वकै महत्वपूर्ण आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै यहाँका बासिन्दा बुद्धका सन्तान भएको बताए। वर्तमान समयमा बुद्धका शिक्षाहरू मानव समाजका लागि व्यवहारिक र आवश्यक रहेको उनको भनाइ थियो।
कान्छीमाया फाउन्डेशनका अध्यक्ष खडराज पोख्रेलले बिहारबाट प्राप्त सहयोगलाई देशका विभिन्न स्थानमा वितरण गर्दै आएको जानकारी दिए। वडा अध्यक्ष दिरेपकुमार चौधरीले वडाका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला र विद्यार्थीलाई सहयोग उपलब्ध गराउनु सकारात्मक कार्य भएको उल्लेख गरे।
दिलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लाभग्राहीहरूका लागि एक सातासम्म निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरिएको छ। उक्त शिविरमा सिद्धार्थ नेत्रालयका प्राविधिकहरूको सहयोग रहेको जनाइएको छ।
प्रकाशित: २३ वैशाख २०८३ १९:०५ बुधबार





