३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ। अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलो पटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो।

योसँगै गण्डकी प्रदेशभित्र सञ्चालित प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन्। प्रेस रजिष्ट्रारको कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सेवा सुरु गरेको उनको भनाइ छ।

'प्रसारण संस्था नवीकरणको प्रमाणपत्र पनि अनलाइनबाटै उपलब्ध हुन्छ, कार्यालयबाट पनि प्रमाणपत्र लिन सकिन्छ', रजिष्ट्रार भण्डारीले भनिन्, 'अनलाइन सेवाले रेडियो टेलिभिजनको दर्ता र नवीकरणका लागि समय र खर्चको बचतसँगै प्रशासिनक झण्झट पनि कम हुनेछ।'

प्रेस रजिष्ट्रार भण्डारीले प्रसारण संस्थाको इजाजत पत्रको नवीकरणका लागि कार्यालयमा सम्पर्क गर्न र राजस्व पनि प्रदेशमै बुझाउन आग्रह गरिन्। उनले अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण पनि प्रदेशबाटै हुने नीतिगत व्यवस्थाका लागि प्रदेश समस्या समाधान समितिको बैठकमार्फत सङ्घ सरकारसमक्ष अनुरोध गरिएको बताइन्।

प्रकाशित: ३० श्रावण २०८३ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App