बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बाबुहरूलाई दोषी ठहर गर्दा उनीहरूका ‘हाइप्रोफाइल’ छोराहरूलाई भने पूर्ण सफाइ दिएको छ।
अदालतले ठोस प्रमाणको अभाव रहेको भन्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई सफाइ दिएको हो।
अदालतको फैसलाअनुसार टोपबहादुर रायमाझी संगठित ठगी र राज्यविरुद्धको कसुरमा मूल दोषी प्रमाणित भएका छन्। तर, उनका छोरा सन्दीपको बैंक खातामा मुख्य बिचौलिया सानु भण्डारीले ४० लाख रुपैयाँ जम्मा गरिदिएको तथ्य भेटिए पनि अदालतले त्यसलाई कसुर मान्न अस्वीकार गर्यो।
सन्दीप ‘लियोन ट्रेडर प्रालि’ मा सानु भण्डारीसँगै सेयर सदस्य रहेको र उक्त रकम २०७४ सालको पुरानो व्यापारिक कारोबारसँग सम्बन्धित देखिएकाले शरणार्थी प्रकरणको घूससँग नजोडिने फैसलामा उल्लेख छ।
त्यस्तै, तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापाको हकमा पनि अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको छ। जाहेरवाला प्रेमराज पन्थीले अदालतमा बकपत्र गर्दा प्रतीक थापाविरुद्धको अभियोग पूर्ण रूपमा खण्डित हुने गरी बयान दिएको र प्रहरीले अन्य वस्तुनिष्ठ प्रमाण पेस गर्न नसकेकाले उनलाई सफाइ दिइएको हो।
प्रहरीले प्रतीकलाई गिरोह र गृह प्रशासन जोड्ने बिचौलियाका रूपमा पेस गरे पनि अदालतले त्यसलाई पुष्टि गर्ने बलियो आधार फेला पारेन।
यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित राजनीतिक र प्रशासनिक नेतृत्व भने दोषी ठहर भएका छन्। दोषी ठहर भएकाहरूको अन्तिम सजाय तोक्न अदालतले आगामी असार २९ गतेको पेसी तोकेको छ।
प्रकाशित: २३ असार २०८३ २१:२३ मंगलबार





