२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

रेन्बो ट्राउटमा भविष्य खोज्दै गणेश: वैदेशिक रोजगारी छाडेर बने सफल मत्स्य उद्यमी

जुम्लाको दुर्गम पातारासी गाउँपालिका–६, घोडासिनका ३५ वर्षीय गणेश बुढाले वैदेशिक रोजगारीको कठिन अनुभवपछि आफ्नै गाउँमा रेन्बो ट्राउट माछापालन सुरु गरेर सफल उद्यमीको परिचय बनाएका छन्। आज उनी जुम्लामै उच्च मूल्यको ट्राउट माछा उत्पादन गर्दै अन्य युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।

गणेशले २०६६ सालमा जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए। त्यसपछि रोजगारीको खोजीमा सन् २०१२ मा साउदी अरब गए। दुई वर्षको बसाइपछि करिब ४ लाख रुपैयाँ ऋण बोकेर स्वदेश फर्किएका उनी सन् २०१५ मा कुवेत पुगे र त्यहाँ चार वर्ष काम गरे।

वर्षौं विदेशमा पसिना बगाएपछि उनले "विदेशभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ" भन्ने सोचका साथ स्थायी रूपमा स्वदेश फर्किने निर्णय गरे। परिवारसँग परामर्शपछि उनले ‘गणेश कृषि तथा पशुपन्छी पालन उद्योग’ दर्ता गरी घरनजिकैको खोरी चौतारा क्षेत्रमा व्यावसायिक माछापालन सुरु गरे।

परीक्षणबाट सुरु, सफल व्यवसायमा विस्तार

व्यवसाय सुरु गर्न उनी सिन्धुपाल्चोकको हैगुम पुगे। त्यहाँबाट रेन्बो ट्राउटका पाँच हजार ३० वटा भुरा प्रतिगोटा १९ रुपैयाँका दरले खरिद गरे। भुरा खरिदमै करिब ९५ हजार रुपैयाँ खर्च भयो भने ढुवानीसहित प्रारम्भिक लगानी करिब २ लाख ७२ हजार रुपैयाँ पुग्यो।

तर दुर्गम जुम्लासम्म भुरा ल्याउने क्रममा दुई हजार दुई सयभन्दा बढी भुरा मरे, जसले सुरुमै ठूलो क्षति बेहोर्नुपर्‍यो।

त्यसपछि उनले परीक्षणका रूपमा पहिलो पोखरीमा १६० वटा भुरा छोडे। सबै भुरा जीवित रहेपछि उनी व्यावसायिक रूपमा माछापालन विस्तार गर्न थप उत्साहित भए।

माग धेरै, उत्पादन अझै अपुग

हाल गणेशले प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा रेन्बो ट्राउट बिक्री गरिरहेका छन्। अधिकांश ग्राहक फार्ममै पुगेर माछा खरिद गर्छन्।

"एकपटक बजारमा ६ किलो मात्रै माछा बिक्रीका लागि लगेँ। सबै तुरुन्तै बिक्री भयो। अहिले मागअनुसार उत्पादन पुर्‍याउन सकिएको छैन," उनी भन्छन्।

उनका अनुसार रारा जाने मुख्य सडक नजिकै फार्म रहेकाले बाह्य तथा आन्तरिक पर्यटक दैनिकजसो अवलोकनका लागि पुग्ने गरेका छन्। खलंगा–उर्थु–पटमारा हुँदै रारा जाने मार्गमा पर्ने भएकाले हालसम्म ४ हजारभन्दा बढी पर्यटकले फार्म अवलोकन गरिसकेका छन्।

वार्षिक पाँच लाख रुपैयाँ आम्दानी

भर्खरै उनले १ क्विन्टल २० किलो माछा बिक्री गरेर करिब २ लाख ८० हजार रुपैयाँ आम्दानी गरेका छन्। त्यसअघि एक महिनामै ५० किलो माछा बिक्री गरेका थिए। हाल उनका पोखरीमा करिब ६ हजार ५०० माछा छन्।

सबै खर्च कटाएर अहिले उनी वार्षिक करिब ५ लाख रुपैयाँ नगद आम्दानी गरिरहेको बताउँछन्।

"सधैं विदेश जानु समाधान होइन। गाउँमै बसेर पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ," गणेश भन्छन्।

उनका अनुसार पशु सेवा कार्यालयले पोखरी निर्माण तथा पाइप व्यवस्थापनमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ।

परिवारको खुसी

गणेशका बुबा देविचन्द्र बुढा छोरा गाउँमै बसेर सफल व्यवसाय गरिरहेको देख्दा गर्व महसुस गर्छन्।

"विदेशमा हुँदा एक्लो छोराको चिन्ता लाग्थ्यो। अहिले घरमै बसेर राम्रो काम गरिरहेको देख्दा धेरै खुसी लागेको छ," उनले भने।

आमा सुर्जा बुढा पनि छोराको निर्णयप्रति गर्व गर्छिन्।

"समाचार र सामाजिक सञ्जालमा वैदेशिक रोजगारीमा गएका युवाको शव बाकसमा फर्किएको खबर देख्दा डर लाग्थ्यो। अहिले कमाइ अलि कम भए पनि छोरो हामीसँगै बसेर राम्रो काम गरिरहेको छ। यही नै सबैभन्दा ठूलो खुसी हो," उनले भनिन्।

प्राविधिक अभाव मुख्य चुनौती

हाल गणेशका दुई वटा पोखरीमा ट्राउट माछा पालन भइरहेको छ। परीक्षणका रूपमा सुरु भएको व्यवसाय अहिले पूर्ण रूपमा व्यावसायिक बनेको छ।

तर जुम्लामा माछापालनको सम्भावना बढ्दै जाँदा प्राविधिक जनशक्तिको अभाव मुख्य चुनौती बनेको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार कार्यालयमा माछाविज्ञ (फिसरिज विशेषज्ञ) नहुँदा किसानलाई आवश्यक प्राविधिक सेवा दिन कठिन भइरहेको छ।

"अहिलेसम्म ठूलो रोगको समस्या देखिएको छैन। तर भविष्यमा रोग फैलियो भने किसानले ठूलो क्षति बेहोर्न सक्छन्," उनले भने।

उनका अनुसार ट्राउट नेपालको चिसो, स्वच्छ र बग्ने पानीमा राम्रोसँग हुर्कने उच्च मूल्यको माछा हो। उत्पादन बढाउन सके सुर्खेत, नेपालगञ्ज, मुगु र कालिकोटसम्म सहज बजार विस्तार गर्न सकिने सम्भावना रहेको उनले बताए।

कार्यालयको साढे ६ लाख सहयोग

बुढ्थापाका अनुसार गणेशलाई सुरुदेखि नै कार्यालयले प्रोत्साहन गर्दै आएको छ।

"गत वर्ष भुरा, दाना र ढुवानीमा सहयोग गरेका थियौँ। यस वर्ष तीनवटा ट्यांकी निर्माणका लागि पनि सहयोग गरेका छौँ," उनले भने।

उनका अनुसार हालसम्म कार्यालयबाट करिब साढे ६ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ। आगामी दिनमा जुम्लामै ट्राउटको भुरा उत्पादन गर्ने स्रोत केन्द्र स्थापना गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

अन्य किसान पनि सक्रिय

जुम्लामा गणेश मात्रै होइन, अन्य किसान पनि रेन्बो ट्राउट पालनमा सक्रिय छन्।

चन्दननाथ नगरपालिका–९का देवेन्द्रराज गिरी र वडा नं. ६का दिल्लीबहादुर रावलले विगत छ वर्षदेखि ‘उच्च हिमाली मत्स्य तथा कृषि पशुपालन समूह’मार्फत ट्राउट पालन गर्दै आएका छन्।

त्यसैगरी पातारासी गाउँपालिका–६, बाता गाउँका राजेन्द्र बुढाले विगत १२ वर्षदेखि ‘राजस्व कृषि फार्म’ सञ्चालन गर्दै २३५ वर्गमिटर क्षेत्रफलमा पोखरी निर्माण गरी ट्राउट माछापालन गरिरहेका छन्।

प्रकाशित: २३ असार २०८३ २१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App