२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ ।

सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सन्दकपुरको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट विशेष प्राथमिकतामा राखेर योजना ल्याइने प्रतिबद्धता जनाए ।

‘प्रदेशका सबै जिल्लाका विशेष पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने हाम्रो योजना छ’, मन्त्री पराजुलीले भने, ‘आगामी नीति तथा कार्यक्रममा यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेछौँ ।’

वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर गाउँपालिकाको वार्षिक क्यालेण्डरअनुसार महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । ‘हामीले वार्षिक क्यालेण्डर नै बनाएर विगत तीन वर्षदेखि ‘रेडपाण्डा महोत्सव’ आयोजना गर्दै आएका छौँ, यसपटक पनि निरन्तरता दिएका छौँ’, अध्यक्ष गुरुङले भने, ‘कार्यक्रमले सन्दकपुरको मात्र होइन, समग्र जिल्लाको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास लिएका छौँ ।’

नेपाल र भारतका पर्यटन व्यवसायीको उपस्थितिमा यही चैत २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन् ।  

सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागि विश्वका पर्यटक पुग्ने गरेका छन् । रेडपाण्डा हिमाली क्षेत्रमा विचरण गर्ने विश्वकै एक दुर्लभ स्तनधारी प्रजाति हो । यसलाई हाब्रे, रातो पाण्डा, पुँडे कुँदो उपनामले पनि चिनिन्छ । रेडपाण्डा भुटान, चीन, भारत, म्यानमार र नेपालमा मात्र पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ (१९७३) ले रेडपाण्डालाई नेपालको संरक्षित प्रजातिको रूपमा वर्गीकृत गरेको छ ।  

बिरालोजस्तै देखिने हाब्रे रातो, सेतो, खैरो, कालो र खिया रङको हुन्छ । पुच्छर ठूलो र लामो हुन्छ । रेडपाण्डाको तौल नौ किलोसम्म हुने गर्दछ । समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार ८०० मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ ।

रेडपाण्डा नेपालको इलामसहित २५ जिल्लामा पाइन्छ । इलामको इलाम नगरपालिका–३ स्थित पाटेनागीसहित सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जमुना चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाई माथिल्लो सामुदायिक वनलगायतमा पाइने गरिएको छ । रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो, निगालोको टुसा, भालुचिण्डे, ऐँसेलु तथा जङ्गली फलफूल हुन् । माथिल्लो क्षेत्रमा मालिङ्गो र भालुचिण्डे पाइने भएकाले रेडपाण्डाको रोजाइमा त्यही क्षेत्र परेको छ ।

रेडपाण्डा संरक्षणका लागि सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा रेडपाण्डासम्बन्धी पठनपाठन नै सञ्चालन गरेको छ । 

प्रकाशित: २० चैत्र २०८२ २१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App