२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

चन्दा उठाएर ऐतिहासिक मन्दिर पुनर्निर्माण

एक करोडभन्दा बढी चन्दा जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण भएको छ।

जगन्नाथ अन्नपूर्ण कोष र व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुनर्निर्माण गरेको हो। विसं १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा विसं १८८२ मा नेपाल एकीकरण हुनुअघि मल्ल राजाहरूले शासन गरेका थिए।

सोह्रौँ शताब्दीमा बनेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिर विसं १९९० र २०७२ को भूकम्पले जीर्ण बनेपछि समुदायबाट आर्थिक सहयोग जुटाएर विसं २०७५ देखि पुनर्निर्माण थालिएको थियो।

मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले पुनर्निर्माणमा एक करोड १९ लाख ३१ हजार ८३३ खर्च भएको जानकारी दिए। एक करोड १४ लाख ५ हजार १३८ चन्दा सङ्कलन भएको र ५ लाख २६ हजार ६९५ अपुग भएको थापाले बताए।

‘पुरातत्व विभागको अनुमतिमा मन्दिरको पुरानो स्वरूप र ऐतिहासिक तथा धार्मिक पक्षमा असर नपर्ने गरेर मन्दिर पुनर्निर्माण भएको छ’, उनले भने, ‘मन्दिरभित्र जगन्नाथ र अन्नपूर्ण देवताका मूर्ति राखेका छौँ।’

५ हजारभन्दा बढी सहयोग गर्नेहरूको नामावलीसहितको शिलालेखको स्तम्भ अनावरण गरेर पूर्वऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले शुक्रबार मन्दिरको उद्घाटन गरे। कार्यक्रममा सहयोगदातालाई कदरपत्रले सम्मान गरिएको थियो। मन्दिरको छेउमा तत्कालीन थापा र मल्ल राजाका पालाका हातहतियार भण्डारण गरिएको कोतघरको पनि पुनर्निर्माण भएको छ।

पुरातत्व विभागको ५० लाख बजेटबाट ठेक्कामार्फत रामसिताको मन्दिर बनेको छ। धवलागिरी गाउँपालिकाको ३ लाख ५० हजार बजेट र हाल अमेरिकामा रहेका रघुनाथ सुवेदीको अगुवाइमा दाताको २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले बताए।

गण्डकी प्रदेश सरकार र सहरी विकास मन्त्रालयको बजेटबाट सडकदेखि कोत परिसर पुग्ने पक्की पदमार्ग बनेको छ। गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय बनेको छ।

म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताए। जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताका मूर्ति छन्, यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वमा विशेष मेला लाग्छ।

तत्कालीन राजाले कोतघरको रूपमा प्रयोग गरेको मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल छन्। समुद्री सतहबाट २५०० मिटर उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे शृङ्खलासहित मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मन्दिर पुनर्निर्माण र थप पूर्वाधार विस्तारसँगै ताकमकोत पर्यटकीय स्थल बनेको बताए। ताकमकोतको विकास र प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए। रासस

प्रकाशित: ११ आश्विन २०८२ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App