१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

विद्यार्थीलाई उज्यालो देखाउँदा देखाउँदै अध्यारो जीवन जिउन बाध्य रवि म्याडम

सादा जीवन र उच्च विचारकी पर्याय गुरुआमा

०५१ साल तिर त्रिभुवन विश्वविद्यालयको आंगिक कलेज ठमेलको अस्कल कलेजमा रविलक्ष्मी मिस विज्ञानको त्यो पनि रुखो विषय मानिने भौतिक शास्त्र पढाउन कक्षाकोठामा पस्दा विद्यार्थीहरु मिसको उपस्थितिले नै हौसिएर कक्षामा पढ्न आउँथे ।  

जसको एउटै कारण थियो रविलक्ष्मी मिसले विद्यार्थीलाई कक्षाकोठामा शिक्षण सिकाई गराउँदा विषय केन्द्रित र नयाँ नयाँ खोज मुलक शिक्षणले बनेको रोचक कक्षा ।

अरु विषयको कक्षामा उपस्थित हुन मन नलागे पनि रविलक्ष्मी मिसको कक्षा जसरी पनि पुग्ने भन्दै कक्षा प्रवेश गर्थे-दिपेन्द्र लामा । तर दिपेन्द्रले जब आफूलाई मन पर्ने प्रिय मिस रविलक्ष्मीमाथि जेन-जी प्रदर्शनका क्रममा भएको आक्रमण र स्वास्थ्य उपचारको अवस्था बुझे उनी मर्माहत र स्तब्ध छ । रविलक्ष्मीको कीर्तिपुरस्थित वर्न अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उपचारका क्रममा बिहीबार उनको दायाँ हात काटिएको छ भने निमोनियाको संक्रमण देखिएको छ । आफूलाई मन पर्ने, अध्यापनमा विद्यार्थीको भाव बुझेर विद्यार्थीलाई पढ्न प्रेरित गर्दै कक्षा सञ्चालन गर्ने रविलक्ष्मी मिस कसैको निसानामा पर्नुअघि सबैले राज्यको बौद्धिक सम्पत्ति र गहनाका रुपमा सम्झनुपर्ने बुझाइ लामाको छ ।  

भदौं २३ गते जेन-जीको प्रदर्शनका क्रममा राज्यले गरेको दमन र गोली प्रहारबाट धेरैले ज्यान गुमाएपछि भदौ २४ गतेको आन्दोलनले उग्ररुप लिएको थियो । सोही दिन आन्दोलनकारीले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित नेताका घरमा तोडफोड र आगजनी गरेका थिए ।  

यही आन्दोलनका क्रममा भदौ २४ गते डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा पनि आगजनी भयो । आगजनी हुने खबर सुनेर सुरक्षाकर्मीको टोली खनाल निवासमा पुग्दा आगजनी सुरु भएको थियो । सुरक्षाकर्मीले पूर्वप्रधानमन्त्री खनाललाई सुरक्षाको कारण देखाउँदै घरबाट लिएर गए पनि खनाल पत्नी रविलक्ष्मी घर भित्रै थिइन् । घरमा आगजनी भएपछि आत्तिएकी उनी घरको माथिल्लो तलामा चढ्दा निसास्सिएर ढलिन । यहीबाट उनलाई जलेको अवस्थामा सुरक्षाकर्मीले माथिल्लो तलाबाट उद्धार गरेका थिए ।  

रविलक्ष्मी पूर्वप्रधानमन्त्री खनालकी पत्नी हुन् । खनाल पत्नी हुनु बाहेक पछिल्लो राजनीतिक घटनाक्रमसँग उनको कुनै लेनदेख र भूमिका नभएको भन्दै सर्वत्र टिप्पणी हुँदै आएको छ । उनको बौद्धिकता र क्षमतालाई राज्यले प्रयोग गर्ने बेलामा अमानवीय व्यवहार भएको आरोप लगाइएको छ । त्यसमा पनि विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्ने व्यक्ति जीवनमरणको दोषाँधमा रहँदा पनि त्रिविले कुनै चिन्ता चासो नदेखाएको भन्दै प्राध्यापकहरूले नै आलोचना गरेका छन् ।

उनी रविलक्ष्मी अहिले कीर्तिपुरको वर्न अस्पतालमा उपचाररत छन् । अस्पतालले स्वास्थ्यमा केही सुधार आएको बताए पनि एउटा हात उपचारकै क्रममा काटिएको छ । निमोनियाको संक्रमण देखिएको छ । यो घटनाले उनले पढाएका विद्यार्थी र त्रिविका शिक्षक तथा उनका सहपाठीले आफूहरू यो घटनाले मर्माहत भएको बताएका छन् । स्वास्थ्यलाभको कामनासहित सामाजिक सञ्जालबाट यस्ता अमानवीय घटना दोहोरिन नदिन राज्यलाई खबरदारी पनि गरिरहेका छन् ।  

‘रविलक्ष्मी मिसको यो समाचार देखेर मर्माहत र स्तब्ध भएँ । ठमेलको अमृत साइन्स क्याम्पसमा उहाँले हामीलाई पढाउनुहुन्थ्यो । उहाँले फिजिक्सको ’अप्टिक्स’ च्याप्टर पढाएका दृश्यहरु अझै ताजा छन्,’ रविलक्ष्मीका विद्यार्थी चलचित्र निर्देशक दिपेन्द्र लामाले भावना पोखे,‘क्लासको निरन्तरतामा कटिबद्ध र भद्र एवम् शालीन स्वभावको उहाँ सबै विद्यार्थीको प्रिय हुनुहुन्थ्यो । पढाउने मिसको हात काटिएको समाचारले म मर्माहित बनेको छु ।’

उनले विगत सम्झँदै भने, ‘ त्योबेला फिजिक्सलाई रुखो विषय मानिन्थ्यो । प्रायः केटाले मात्रै पढ्थे । हाम्रो ब्याचमा जम्मा एकजना मात्र थिइन् फिजिक्स पढ्ने केटी । केटीहरु बायोलोजीतिर झुम्मिन्थे । त्यस्तो अवस्थामा फिजिक्स पढाउने मिस भन्नेबित्तिकै सम्मान हुने भइहाल्यो । त्यसमाथि झलनाथ खनालकी श्रीमती ! अलिअलि राजनीतिको चस्का लागेका सबै विद्यार्थीले रवि मिसप्रति प्रकट गर्ने सम्मान नै बेग्लै हुन्थ्यो ।’

निर्देशक लामाका अनुसार विद्यार्थीहरुले हडताल गर्दा क्याम्पस प्रशासनले उहाँलाई नै गुहार्थ्यो । किनकि, उहाँले सम्झाएपछि विद्यार्थीले हडताल फिर्ता लिन्थे । विद्यार्थीहरुको आक्रोशलाई शान्त पार्ने क्षमता उहाँमा थियो । लामा प्रश्न गर्छन,‘अस्ति आन्दोलनमा उहाँलाई जिउँदै जलाउन खोज्ने’ आतंककारीहरुलाई जति निन्दा गरे पनि कम हुन्छ । उनीहरुलाई सोध्न चाहन्छु, के रवि मिसले देशका हजारौं विद्यार्थीलाई विज्ञान विषय पढाए वापतको पुरस्कार यही हो ?’

निर्देशक लामाले घामपानी, गोपी, छ माया छप्पकै, दुई नम्मरी, नांगो गाउँ र दु:खी आत्मालगायतका नेपाली चलचित्र निर्माण गरेका छन् ।  

अस्कल कलेजकै रविलक्ष्मी चित्रकारका सहपाठी सहप्राध्यापक डा एसपी संहका अनुसार रविलक्ष्मी तत्कालिन प्रधानमन्त्री पत्नी भए पनि निकै सालिन स्वभावकि थिइन् । विज्ञान संकाय आफैँमा सम्मानित मानिनथ्यो त्यसमाथि पनि विज्ञानको भौतिक शास्त्रको शिक्षक भएकाले उनलाई सबैले सम्मान भावले नै हेर्थे । त्यो सम्मान पनि उनको क्षमता र दक्षताको मात्र हुने गरेको सहप्राध्यापक सिंह बताउँछन् ।

‘जेनजी आन्दोलनमा देशको होनहार शिक्षक जसले हजारौ विद्यार्थीलाई विज्ञानको टफ विषय पढाएर शिक्षित र समाजिक ब्यक्तित्व बनाउनु भयो त्यस्तो गुरुले हात गुमाएर गुरु दक्षिण पाउनु दुःखद हो,’ सहप्राध्यापक सिंहले नागरिकसँग विगत साटे,‘मलाई अझै समझना ताजै छ । जब झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो । तर म्याडम रविलक्ष्मी क्याम्पसमा सार्वजनिक टेम्पु चढेर आउनुहुन्थ्यो । भन्नु हुन्थ्यो म शिक्षक हु । मेरो पेसा विद्यार्थीलाई सिकाउनु र पढाउनु हो । प्रधानमन्त्रीको श्रीमती भएर धाक लगानु होइन ।’

उनले थपे,‘यस्तो सादा जीवन र उच्च विचारकी धनी रविलक्ष्मी म्याडममाथि भएको दुःखद घटनाले हामी सबै शिक्षकलाई मर्माहत बनाएको छ। त्यो घर बनाउन म्यामको उत्तिकै लगानी थियो होला । राज्यले विज्ञानको अब्बल शिक्षकलाई सम्मान गनु पर्नेमा उनले पढाउने हात गुमाउनु पर्‍यो । आन्दोलनका नाममा हुने यस्ता क्रियाकलाप गलत हुन् ।’

प्रकाशित: ३ आश्विन २०८२ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App