लोपोन्मुख राउटे समुदायकी मयाराम शाही १२ वर्षकी हुँदा ३४ वर्षका दलबहादुर शाहीसँग विवाह भयो। १३ वर्षकै उमेरमा उनले छोरी जन्माइन्। जन्मेको केही दिनमै छोरीको मृत्यु भयो।
अर्को वर्ष अत्यधिक मदिराका कारण दलबहादुरको पनि मृत्यु भयो। १४ वर्षकै उमेरमा विधवा भएकी उनले राउटे संस्कारअनुसार अर्को विवाह गर्न पाउँदिनन्। सुरमान शाहीको पनि १२ वर्षकै उमेरमा ३३ वर्षका शिवराज शाहीसँग विवाह भएको थियो। एक वर्षमै उनले पति गुमाइन्। उनको सन्तान पनि छैन।
१८ वर्षीया किताब शाहीका पति मानसिंह शाहीको पनि २०८१ साउन २९ गते मृत्यु भयो। किताब १४ वर्षकी हुँदा २५ वर्षका मानसिंहसँग विवाह भएको थियो। किताबले पनि छोरी जन्माएकी थिइन्। केही महिनामै छोरीको मृत्यु भयो। किताबले पनि अब विवाह गर्न पाउँदिनन्। राउटे समुदायमा पति गुमाएका महिलालाई विवाह गर्न वर्जित छ। बस्ती एउटै भए पनि ‘विधवा’लाई छेउतिर राख्ने, शुभकार्यमा सरिक नगराउने र ‘अपाच्य शब्द’ले सम्बोधन गर्ने गरिन्छ।
‘हाम्रो चलनअनुसार पति मरेका स्वास्नी (महिला) ले अर्कोसँग विवाह गर्न पाउँदैनन्,’ मुखिया प्रकाश शाहीले भने, ‘त्यहीँ भएर जीवनभर एक्लै बस्नुपर्छ।’ नेपालको एक मात्रै लोपोन्मुख घुमन्ते समुदाय राउटेको संख्या हरेक वर्ष घट्दो क्रममा छ। तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलोपटक २०७१ चैतमा राउटे समुदायका नागरिकहरूको फोटोसहितको गणना गरेको थियो।
उतिबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा झरिसक्यो। राउटे समुदाय अस्थायी साधनको प्रयोग गर्दैनन्। एउटै महिलाले १८ वटासम्म बच्चा जन्माएका उदाहरण छन्। यति हुँदाहुँदै राउटेको संख्या किन घट्दै गएको छ त? यसको मुख्य कारण मदिरासँगै गोत्र जोडिएको छ। राउटे समुदायमा तीन गोत्र छन्। उनीहरूको आफ्नो गोत्रभित्र बिहावारी चल्दैन। रास्कोटी, स्ववंशी र कल्याल गोत्रबिच एकअर्कासँग विवाह हुन्छ। यो समुदायमा कल्यालको संख्या अधिक छ। स्ववंशी र रास्कोटीको संख्या न्यून छ। कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवायुवतीको पनि विवाह हुँदैन। स्ववंशी र रास्कोटी गोत्रका छोराछोरीको उमेर नपुग्दै विवाह हुन्छ।
‘कल्याल गोत्रका छोराछोरी धेरै भए, अरू दुई गोत्रको संख्या अत्यन्तै न्यून भयो,’ राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुरर खत्रीले भने, ‘अनमेल विवाह, बाल विवाह र कलिलैमा पति गुमाए पनि दोस्रो विवाह गर्न नपाउने परम्पराका कारण पनि राउटे समुदायको जनसंख्या घट्दै गएको हो।’
उनले भनेजस्तै राउटे समुदायका कोसैको १२ वर्ष नपुग्दै विवाह भइसक्छ। कसैको ३० वर्षमाथि उमेर पुगिसक्दा पनि विवाह भएको छैन। यसको मुख्य कारण एउटा गोत्रको संख्या धेरै हुनु र अरू गोत्रको संख्या कम हुँदै जानु हो। दलबहादुर, शिवराज र मानसिंह कल्याल गोत्रका हुन्। तीनै जनाले स्ववंशी र रास्कोटीकी छोरीसँग विवाह गरेका थिए। अर्को गोत्रकी छोरी १२ वर्ष नपुग्दासम्म विवाह गर्न मिल्दैन। त्यसैले तीनै जनाले आफूभन्दा करिब आधा उमेरकी केटीसँग विवाह गरे। पछिल्लो समय राउटे समुदायमा मदिराको अत्यधिक प्रयोग हुन्छ। त्यसैको कारण धेरैले युवा अवस्थामै ज्यान गुमाइरहेका छन्।
राउटे समुदायका अर्का मुखिया शेरबहादुर शाही कल्यालको संख्या स्थिर रहे पनि स्ववंशी र रास्कोटीको संख्या धेरै घटेको बताउँछन्। ‘पहिले स्ववंशीको संख्या धेरै थियो, मुखिया पनि स्ववंशीकै हुन्थे,’ उनले भने, ‘अहिले सबैभन्दा कम संख्या स्ववंशीकै छ।’ एउटै गोत्रभित्र विवाह नहुने भएकाले कल्यालका छोराछोरी धेरै छन्, रास्कोटी र स्ववंशी कम छन्। शेरबहादुर रास्कोटी गोत्रबाट मुखिया बनेका हुन्। ‘हाम्रा छोरी सानैमा कल्यालले लैजान्छन्,’ उनले भने, ‘बस्तीमा उनीहरूकै संख्या धेरै छ।’
राउटे समुदायमा एकल महिलालाई तुच्छ भाषाको प्रयोग गरिन्छ। पतिको मृत्यु भएकी महिलालाई बस्तीकै छेउमा घर बनाउन लगाइन्छ। उल्टो ढोका राख्न लगाइन्छ। राउटे समुदाय बाह्य समुदायसँग नजिक छैन। बाह्य समुदायसँग उनीहरूको बिहेवारी चल्दैन। हाल राउटे समुदायको संख्या १४१ छ। तीमध्ये कल्यालको संख्या ७० छ। रास्कोटीको संख्या ४३ हो भने स्ववंशीको संख्या १८ मात्रै हो। राउटे समुदायसँग काम गरिरहेको सोसेक नेपालका अनुसार कलेल समुदायका पुरुषको संख्या ३३ छ भने महिलाको संख्या ३७ छ। यस्तै रास्कोटी पुरुषको संख्या १७ छ भने महिलाको संख्या २६ छ भने स्ववंशी पुरुष र महिलाको संख्या समान ९-९ छ।
कल्याल गोत्रका विवाह गर्ने उमेरका युवाहरूको संख्या १७ जना छ। ३२ वर्षकी गाजली, ३४ वर्षकी रिवाङलगायत पाँच केटी २५ वर्षमाथिका छन्। अर्को गोत्रका केटाहरू नहुँदा उनीहरूको विवाह भएको छैन। यस्तै ३३ वर्षका बलाल शाही, २९ वर्षका शोविनलगायतको पनि विवाह भएको छैन्। ‘अर्को गोत्रमा केटी नै छैनन्,’ बलालले भने, ‘अनि कोसँग विवाह गर्नु?’
सोसेकका कार्यकारी निर्देशक हिरासिंह थापाले विधवा महिलासँग विवाह गराउने प्रयास गरिए पनि आफूहरू सफल हुन नसकेको बताए। ‘राउटे बस्तीमा बच्चा नजन्माएका विधवा महिला सात जना छन्,’ उनले भने, ‘उनीहरूको मात्रै विवाह गराउन सकिएको भए पनि ठुलो सफलता हुन्थ्यो।’
उनले विधवा विवाह नगर्नु, एउटा गोत्रको संख्या धेरै हुनु र अरू दुई गोत्रको संख्या न्यून हुनु तथा मदिराका कारण राउटेको संख्या घट्दै गएको बताए। ‘बाल मृत्युदर र मदिराको कुलतसँगै राउटे समुदायभित्रको गोत्रका कारण पनि यिनीहरूको संख्या घट्दो क्रममा छ,’ थापाले भने, ‘राउटे समुदायको जनसंख्या बढाउन बालमृत्यु दर घटाउँदै मदिरा नियन्त्रण गर्नु आवश्यक छँदै छ, त्योसँगै कलिलैमा विवाह भएर एकल भइसकेका महिलाहरूको विवाह गराउने परम्पराको थालनी गर्नु आवश्यक छ।’
एक वर्षमा सातको जन्म, ११ को मृत्यु
पछिल्लो एक वर्षको अवधिमा राउटे समुदायमा सात जनाको जन्म हुँदा ११ जनाको मृत्यु भएको देखिन्छ। मुखिया सूर्यनारायण शाहीसहित अघिल्लो वर्ष राउटे बस्तीमा नन्दराम, गोविन्द, प्रकाश र मिहिनकी चार महिनाकी छोरी बराह ताल, भक्तबहादुर, विनोद, झक्क, रमेश, अमिर, गगन र फलाँटो शाहीको मृत्यु भयो।
तथ्यांकअनुसार २०८२ साउन १० गते जिका र धयारबाट जन्मेका झलक मात्रै बाँचेका छन्। त्यसयता जन्मेका कुनै पनि राउटे बालबालिका बाँचेनन्। मसुरी शाहीले २०८२ साउन २० गते लेकबेंसी-१० झुप्राखोलामा झक्कलाई जन्म दिइन्। उनको २०८२ असोज ५ गते लेकबेंसी-१० को रातेडाँडामा मृत्यु भयो। चन्द्रमान र बैराबाट २०८२ भदौ २७ गते लेकबेंसी-१० को रातेडाँडामा रमेश शाहीको जन्म भयो। २०८२ कात्तिक ७ गते लेकबेंसी-८ चिसापानीमा उनको मृत्यु भयो।
हिरासिंह र बांगे शाहीबाट २०८२ असोज ६ गते रातेडाँडामा अमिरको जन्म भयो। २०८२ कात्तिक २२ गते लेकबेंसी नगरपालिका-७ पुलटारमा उनको मृत्यु भयो। कृष्ण र घुस्राबाट २०८२ चैत १४ गते लेकबेंसी-२ खहरेखोलामा गगन शाहीको जन्म भयो। २०८३ वैशाख २ गते १८ दिनको हुँदा उनको मृत्यु भयो। ‘२०८३ यता राउटे बस्तीमा कसैको जन्म भएको छैन,’ खत्रीले भने, ‘मृत्यु हुनेको संख्या भने बढ्दै छ।’
प्रकाशित: ३० भाद्र २०८३ १२:५६ मंगलबार





