१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

रौतहट प्रहरीको एक महिने प्रगति: ६२ लाख बढीको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिनाको अवधिमा ६२ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।

प्रहरीले गत माघ महिनामा मात्रै भन्सार छली तथा अवैध रूपमा ओसारपसार गरिएका ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णुप्रदीप बस्यालका अनुसार सोही अवधिमा राजस्व छलीतर्फका ६४ हजार ६५९ रुपैयाँ बराबरका सामग्री पनि बरामद गरिएको छ।

अवैध कारोबारमा संलग्न ५ वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बस्यालले जानकारी दिए।

प्रहरीले सार्वजनिक गरेको मासिक विवरण अनुसार माघ महिनामा जिल्लामा विभिन्न प्रकृतिका ७७ वटा मुद्दा दर्ता भएका छन्। जसमा सामाजिक अपराधका २३, बैंकिङ कसुरका १७, आत्महत्या सम्बन्धी ८, ज्यान सम्बन्धी ७ र चोरीका २ वटा मुद्दा रहेका छन्।

शान्ति सुरक्षा र अपराध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका ४१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा परेका २८४ वटा ठाडो उजुरीमध्ये १७३ वटाको फछ्र्यौट भइसकेको र १११ वटा उजुरीमाथि कानुनी कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनमाथि कडाइ गरे पनि दुर्घटनाको संख्या भने उच्च देखिएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार माघ महिनामा जिल्लाभर ९२ वटा सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन्।

ट्राफिक नियम उल्लंघन गर्ने ७४५ वटा सवारी साधनलाई कारबाही गर्दा एक महिनामा ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको इन्स्पेक्टर मगरले जानकारी दिए।

प्रकाशित: ४ फाल्गुन २०८२ १७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App