१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा बाढी अपडेट: मृतकको संख्या १,२०४ पुग्यो, ४२ सय बढी अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार २०४ पुगेको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै विपद्पछिको खोज, उद्धार र राहतको विस्तृत विवरण अद्यावधिक गरेको हो।

प्राधिकरणका अनुसार हालसम्म विभिन्न निकायको प्रयासबाट ११ हजार ९१३ जनाको सकुशल उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार बाढीले बगाएर विभिन्न जिल्लासम्म पुर्‍याएका तथा विभिन्न मानव अङ्गसहित कुल १,२०४ वटा शव फेला परेका छन्। जसमध्ये हालसम्म ९५ वटा शवको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।

बाढीपछि अझै ठूलो संख्यामा नागरिकहरू हराइरहेका छन्। सम्पर्कविहीन हुने ४,२१६ जनामध्ये सबैभन्दा धेरै जलविद्युत् आयोजनाका कर्मचारी र विदेशी नागरिक रहेका छन्।

जलविद्युत् आयोजनाका करिब ९०० जना र ५८३ जना विदेशी नागरिक बेपत्ता छन्। विदेशी पर्यटकसँगै गएका १६४ नेपाली पनि हराइरहेका छन्।

हराउनेमा सुरक्षाकर्मी र सरकारी कर्मचारी पनि उल्लेख्य छन्। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १३ जना जवान सम्पर्कविहीन छन्।

त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, जनप्रतिनिधि ७, स्थानीय तहका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक बेपत्ता छन्। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार रसुवाका करिब ८६५ र नुवाकोटका करिब १,५५८ जना सर्वसाधारण सम्पर्कविहीन छन्।

बाढीमा परी हालसम्म ३०१ जना घाइते भएका छन्। जसमध्ये १९५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। विपद् क्षेत्रमा खटिएको नेपाली सेनाले ३,१११ जना र सशस्त्र प्रहरीले १,६२८ जनाको स्वास्थ्य उपचार गरेको प्राधिकरणले जनाएको छ।

उद्धार कार्यमा राज्यका तीनवटै सुरक्षा निकायका गरी कुल २१,३१४ सुरक्षाकर्मी परिचालित छन्। जसमा नेपाली सेनाका ९,१९९, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ जना खटिएका छन्।

नेपाली सेनाले मात्रै हालसम्म ६९० पटक हवाई उडान गरी २७३ विदेशी र ४,०९१ नेपालीको हवाई उद्धार गरेको छ। निजी क्षेत्रका हेलिकप्टरले काठमाडौंबाट २९ वटा उडान भरेका छन्।

हाल घरबारविहीन भएका ३,४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। जसमा नुवाकोटमा २,४६६, रसुवामा ३९८, काठमाडौंमा ३२९ र धादिङमा २६० जना रहेका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम तीव्र पारिएको छ। सडकमार्गबाट ४५ ट्रक र ३७ बोलेरो जिपमार्फत तथा हेलिकप्टरबाट ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ।

भदौ १६ गते थप १४ गाडी राहत पठाइएको थियो। सशस्त्र प्रहरीले भदौ १७ गते मात्रै नुवाकोटका ३ स्थानमा ५ उडान र रसुवाका ९ स्थानमा २५ उडानमार्फत राहत ढुवानी गरेको छ।

सरकारले तत्कालका लागि रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि पहिलो चरणमा ६ करोड ७५ लाख र थप ६ करोड ७५ लाख निकासा गरिएको छ।

विपद्ले क्षति पुर्‍याएका सञ्चार टावरहरू सुचारु भएका छन्। नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर हाल सञ्चालनमा आएका छन् भने एनसेलका क्षति पुगेका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

उद्धार र मेसिनरी सञ्चालनका लागि प्रभावित क्षेत्रमा ३४ हजार लिटर डिजेल, १६ हजार लिटर पेट्रोल र ७ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८३ १९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App