१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढी प्रभावित सबै क्षेत्रमा टेलिकमको सेवा पूर्ण रूपमा सुचारु

गत भदौ १० गतेको विनाशकारी बाढीले सञ्चारविहीन बनेका रसुवा, नुवाकोट र धादिङका सबै प्रभावित क्षेत्रमा नेपाल टेलिकमले आफ्नो मोबाइल नेटवर्क पूर्ण रूपमा पुनःसञ्चालन गरेको छ।

नेटवर्क सञ्चालनमा आएसँगै ती क्षेत्रमा जारी राहत तथा उद्धार कार्यमा सहजता मिलेको छ।

सडक र विद्युत् अवरुद्ध भएको विषम परिस्थितिमा टेलिकमले सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर र इन्धन ढुवानी गरेर सेवा सुचारु गरेको हो।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार निरन्तरको प्रयासपछि विपद् प्रतिकार्य कक्षमार्फत प्रभावित सबै स्थानमा सञ्चार पहुँच कायम गरिएको छ।

बाढीका कारण टेलिकमका यी तीन जिल्लामा रहेका १२० साइटमध्ये ८३ वटाको सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। जसमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली ३ ‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

क्षतिग्रस्त साइटले दिने सेवा हाल वैकल्पिक रूपमा अन्य साइटबाट उपलब्ध गराइएको छ भने तिनको छिट्टै पुनर्निर्माण गरिने टेलिकमले जनाएको छ।

टेलिकमले भदौ १७ गते नेपाल-चीन सिमाना नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा ल्याएको थियो। यससँगै टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सेवा सुचारु भई उद्धार कार्य भइरहेका सम्पूर्ण क्षेत्रमा सञ्चार पहुँच पुगेको हो।

यसअघि भदौ १६ गते टेलिकमले धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याएको थियो।

बाढी गएलगत्तै भदौ ११ गतेदेखि नै टेलिकमले हेलिकप्टरमार्फत उद्धार थालेको थियो। सो दिन रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट सामान पुर्‍याएर सेवा सुचारु गरिएको थियो भने धुन्चेमा जेनेरेटरमार्फत सेवा दिइएको थियो।

भदौ १२ गते रसुवाको गोलजुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे र टिमुरे माथिको डाँडामा हेलिकप्टरबाटै जेनेरेटर र इन्धन पुर्‍याइएको थियो। सोही दिन नुवाकोटको मदनपुर, बट्टार, विदुर र धादिङको बैरेनी ठमेल डाँडामा पनि सेवा सञ्चालन गरिएको थियो।

यसैगरी, भदौ १३ गते रसुवाको त्रिशूली ३ ‘ए’, कालिकास्थान, नुवाकोटको बुङ्ताङ, कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर सञ्चालनमा आएसँगै ९३ साइटको सेवा सुचारु भएको थियो।

भदौ १४ गते थप सात स्थान (अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो, गत्लाङ, चारघरे र चारघरे मूलाबारी) र भदौ १५ गते जिबजिबे, सरमथली, बेनीघाट र त्रिशूली बजार साइट सञ्चालनमा ल्याइएको थियो।

हाल विद्युत् आपूर्ति नियमित नभएका अति आवश्यक साइटहरू जेनेरेटरमार्फत सञ्चालन भइरहेका छन्। विद्युत् सेवा सुचारु हुँदै गएका स्थानमा साइटहरू स्वतः सञ्चालनमा आउनुका साथै फोरजी सेवाको प्रभावकारितासमेत बढ्दै गएको टेलिकमले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८३ १९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App