राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
बुधबार बिहान आएको बाढीपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले बाढीबाट विस्थापित नागरिकप्रति सहानुभूति पनि प्रकट गरेका छन्। लिङ्देनले सरकारका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कता र तत्परताका साथ परिचालन गर्न आग्रह गर्दै मानिसको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार, उपचार र तत्काल राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विशेषगरी भोटेकोशी, त्रिशूली तथा तल्लो तटीय क्षेत्रमा जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आवश्यक सुरक्षा घेरा कायम गर्न तथा खाद्यान्न, औषधि, खानेपानी र अस्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन्।
‘विपद्को घडीमा सरकारको उपस्थिति पीडित नागरिकको घरदैलोमा अनुभूति हुने गरी देखिनुपर्छ,’ लिङ्देनले भनेका छन्। उद्धार र राहतमा तत्काल सक्रिय भई थप मानवीय क्षति हुन नदिन सरकारले प्रभावकारी अग्रसरता लिनुपर्ने उनको भनाइ छ।
राप्रपा विपद्को यस घडीमा सरकारको साथमा रहने उल्लेख गर्दै लिङ्देनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उद्धार, राहत र मानवीय सहयोगका कार्यमा स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी सक्रिय हुन आह्वान गरेका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायत जिल्लाका पार्टी नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १४:५५ बुधबार





